त्रिदेशीय टी–२० सिरिज : उपाधिका लागि आज नेपाल र नेदरल्याण्ड्स खेल्दै

काठमाडौं, २२ फागुन । त्रिदेशीय टी–२० सिरिजको उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स आज भिड्दै छन् ।

त्रिवि क्रिकेट मैदानमा नेपाल र नेदरल्याण्ड्सबीचको खेल बिहान साढे ११ बजे सुरू हुनेछ । नेपालको कप्तानी रोहित पौडेल र नेदरल्यान्ड्सको स्कट एडवार्ड्सले गर्नेछन् ।

नामिबिया र नेदरल्यान्ड्सबीचको लिग चरणको अन्तिम खेल आइतबार वर्षाले रद्द भएसँगै नेपाल र नेदरल्याण्ड्सबीच फाइनल भिडन्त पक्का भएको थियो ।

सुरुवाती खेलमा नेपाल नामिबियासँग २० रन र नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । त्यसपछि खेलमा पुनरागमन गर्दै नेपालले नामिबियालाई तीन रन र नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै फाइनल यात्रा पक्का गरेको हो ।