धादिङमा बस दुर्घटना, चार जनाको मृत्यु ३० जनाभन्दा बढी घाइते

धादिङ, २३ फागुन । धादिङमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएका छन् भने ३० जनाभन्दा बढी घाइते भएका छन् ।
कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरका यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटनामा परेको हाे ।
आज विहान भएको सो दुर्घटनामा एक महिलासहित चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिनुभयो । बस पृथ्वीराजमार्गबाट करिब एक सय मिटर तल त्रिशूली नदीमा खसेको प्रहरीकाे भनाइ छ ।
दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका छन् । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, नेपाली सेना तथा स्थानीयले उद्धार गरिरहेका छन् ।
सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा आइपुगेका छन् । बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको सनाखत हुन बाँकी रहेको जनाइएको छ ।