देउवाले धोकेबाज बनेपछि प्रचण्डको जवाफः आफूसँग हुँदा इमान, अरुसँग जाने बित्तिकै बेइमान हुँदैन
काठमाडौं, २४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै नेपाली कांग्रेसले आफूलाई राजनीतिक बेइमान भनेकोमा तिब्र असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले आफूसँग हुँदासम्म इमान र अरुसँग जानेबित्तिकै बेइमान भन्न नहुने भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । कांग्रेस संसदीय दलको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डले धोका दिएको र बेइमान भएको भन्दै त्यसको औषधी नभएको भन्दै गुनासो गर्नुभएको थियो । त्यति विषयलाई लिएर प्रधानमन्त्री प्रचण्डले त्यस्तो असन्तुष्टि व्यक्त गर्नुभएको हो । देउवाले आफूले सबै सहेको र आफ्नै साथीभाइहरूलाई चित्त दुखाएर पनि गठबन्धन जोगाउन प्रयास गरेको भए पनि प्रचण्डले धोका दिएको भन्दै यस्तालाई भन्ने शब्दै नभएको भनी धोकेबाजको संज्ञा दिनुभएको थियो ।
कांग्रेससँग गठबन्धन तोडेर नेकपा (एमाले)सँग गठबन्धन बनाउनु भएका प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफूलाई राजनीतिक बेइमान भएको निष्कर्ष निकाल्न नहुने जिकिर गर्नुभयो । ‘आफूसँग हुँदा इमान, अरुसँग जाने बित्तिकै बेइमान भन्ने हुँदैन। सोझो भाषामा भन्न चाहन्छु, राजनीतिमा केही आशंका आएपछि यो भएको हो।’
उहाँले राजनीतिक प्रतिवद्धता र विकासप्रतिको छटपटिको कारणले मैले यो कदम सोचेरै यो कदम चालेको बताउनु भयो। ‘कसैलाई मेरो कदम अस्थिर लाग्न सक्छ, भर्खरै मैले समाचारमा पढेँ। नेपाली कांग्रेसको संसदीय दल बसेर नै मलाई राजनीतिक बेइमान भनेर निष्कर्ष निकाल्नुभयो भन्ने पढेँ। यथार्थ के हो, अहिले नेपाली कांग्रेसका प्रतिनिधिले भन्नुहोला,’ उहाँले भन्नुभयो, ‘यसलाई मैले जसरी संक्षिप्तमा व्याख्या गर्ने कोसिस गरेँ, राजनीतिक प्रतिवद्धता र विकासप्रतिको छटपटीको कारणले मैले यो कदम सोचेरै चालेको छु।’