प्रेस चौतारी चितवनको भवन निर्माणमा एमाले नेतृ रावलद्वारा आर्थिक सहयोग

चितवन, २७ फागुन । राष्ट्रिय सभाको निवर्तमान सांसद एवम् एमाले केन्द्रीय सदस्य पार्वती रावलले प्रेस चौतारी चितवनको भवन निर्माणका लागि आर्थिक सहयोग गर्नुभएको छ ।
भरतपुर महानगरपालिका–११ बसेनीमा निर्माणाधीन भवनका लागि नेतृ रावलले ३१ हजार १ सय ११ सहयोग गर्नुभएको हो। राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापतिसमेत रहनु भएकी नेतृ रावलले प्रेस चौतारीको देशकै पहिलो भवन चितवनमा निर्माण हुनु सुखद कुरा भएको भन्दैं भवन निर्माणका लागि आफूले पाउने पारिश्रमिकबाट सहयोग गरेको बताउनुभयो ।

प्रेस चौतारीको भवन निर्माणले पत्रकारहरुको संस्थागत विकास र दक्षता अभिवृद्धिमा टेवा पुग्ने विश्वास लिएको नेतृ रावलको भनाई छ । प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले भवनका लागि सहयोग गर्ने एमाले केन्द्रीय सदस्य रावललाई धन्यवाद दिँदै निकट भविश्य मै भवनले पूर्णता पाउने बताउनुभयो ।

उहाँलेले कठिन शारिरिक अवस्था र क्यान्सर रोगबाट गुज्रिएर उपचारपछि क्यान्सरमुक्त हुन सफल भएकोमा नेतृ रावललाई बधाई दिँदै बाँकी जीवन समाज र राष्ट्रका लागि प्रेरणादायी बन्ने विश्वास ब्यक्त गर्नुभयो। अध्यक्ष पण्डितले नेतृ रावलले संगठन प्रति दर्शाएको माया र सद्भाव अनुकरणीय रहेको बताउनुभयो।

समाजसेवी केशव कार्कीले प्रेस चौतारी चितवनलाई उपलब्ध गराएको झण्डैं ७० लाख पर्ने १० धुर जग्गामा अहिले भवन बनिरहेको छ । सो जग्गामा बन्दै गरेको भवनको लागत १ करोड ५० लाख छ । भवनको दोस्रो तला ढलानको काम सकेर तेस्रो तला ढलानको तयारी हुँदैछ ।

पहिलो तला भित्र फिनिसिङको काम भैरहेको छ । भवनमा आर्थिक सहयोग जुटाउन चौतारी चितवनले गत बर्ष वृहत सांस्कृतिक तथा साहित्यिक कार्यक्रम आयोजना गरेको थियो । भवनका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले सहयोग गर्दै आएका छन् । भवनको भूईं तलामा कार्यालय कक्ष रहनेछ । पहिलो तलामा कार्यक्रम गर्न मिल्ने हल बन्ने अध्यक्ष पण्डितले जानकारी दिनुभयो ।