काठमाडौंमा औषधि बिक्रेताहरुलाई आम उपभोक्ताको सुरक्षामा ध्यान दिन उपमेयरको आग्रह

काठमाडौं, २७ फागुन । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौंका धेरैजसो फार्मेसी तथा पोलिक्लिनिकहरुमा म्याद गुज्रिएको औषधि र भ्याक्सिनहरु बिक्री गरेको पाइएको उल्लेख गर्नुभएको छ ।
नेपाल औषधि व्यवसायी संघ, काठमाडौं जिल्ला शाखाको तेस्रो साधारणसभा तथा दोस्रो जिल्ला अधिवेशनमा सम्वोधन गर्दै उहाँले यस्तो उल्लेख गर्नुभएको हो । उहाँले कार्यक्रमलाई सम्वोधन गर्दै काठमाडौंमा औषधि बिक्रेताहरुलाई आम उपभोक्ताको सुरक्षामा ध्यान दिन आग्रह समेत गर्नुभयो ।
‘यस्तो डरलाग्दो अवस्था छ । म उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने काम नगर्न सचेत गराउन चाहन्छु,’ उहाँले भन्नुभयो, ‘बिक्रेताहरुले आम उपभोक्ताको विश्वास जित्ने गरी बिक्री वितरणको काम गर्नुपर्छ । मान्छेको स्वास्थ्यमा गम्भिर असर पुग्ने कुरालाई मनन गरेर अघि बढ्न पनि सबै औषधि विक्रेताहरुको ध्यानाकर्षण गराउन चाहन्छु ।’ उहाँले आम उपभोक्ताको विश्वास जित्ने गरी आफ्नो व्यवसाय अघि बढाउन आग्रह गर्दै त्यसका लागि महानगरपालिकाका औषधि व्यवसायीहरुसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको उल्लेख गर्नुभयो ।
‘हामीले अस्पतालका साथै फार्मेसीहरुको पनि अनुगमन गरिरहेका छौं,’ उहाँले भन्नुभयो, ‘फार्मेसीमा अनुगमन गर्दा डरलाग्दो छ । धेरै फार्मेसीहरुमा डेट एक्पाएर औषधि बेचिराखेको पाइएको छ । धेरै फार्मेसीमा त्यसको लाइसेन्स लिने व्यक्ति एक जना, औषधि दिने मान्छे अर्को हुने गरेको पाइएको छ ।’
पछिल्लो समय उपमेयर डंगोलकै नेतृत्वमा काठमाडौं महानगरपालिकाले अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन सुरु गरेको छ । उपप्रमुख एवं अनुगमन समितिकी संयोजक डंगोलको नेतृत्वमा ७ बढी सरकारी र नीजि अस्पतालको अनुगमन गरिएको महानगरपालिकाले जानकारी दिएको छ ।
उपप्रमुख डंगोलको नेतृत्वमा प्रदर्शनी मार्गस्थित काठमाडौँ मोडेल अस्पताल, थापाथलीको नर्भिक र प्रसुति गृह, टेकुको टेकु ट्रपिकल अस्पताल, कान्तिबाल अस्पताल, वीर अस्पताल र ट्रमा सेन्टर गरी सात ओटा अस्पतालमा संक्रमित फोहोरको व्यवस्थापनको अनुगमन गरिएको महानगरपालिकाले जानकारी दिएको छ ।
काठमाडौँ महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ मा हानीकारक फोहोर व्यवस्थापन सम्बन्धी व्यवस्था छ । ऐनको दफा २० बमोजिम हानीकारक, स्वास्थ्य संस्थाजन्य, रसायनिक वा औद्योगिक फोहोरको प्रशोधन र व्यवस्थापन उत्पादक आफैँले गर्नुपर्ने उल्लेख छ ।
अधिवेशनबाट शंकर महर्जनको नेतृत्वमा १३ सदस्यीय कमिटी निर्विरोध निर्वाचित भएको छ । वरिष्ठ उपाध्यक्षमा रत्नबहादुर कार्की, उपाध्यध्यक्ष आयात थोकमा संजय श्रेष्ठ, खुद्रामा प्रकाश न्यौपाने, महासचिवमा शुभमान श्रेष्ठ हुनुहुन्छ । त्यसैगरी कोषाध्यक्षमा अमृत ज्ञवाली, सचिवमा सविज प्रजापति, उपकोषाध्यक्षमा विज्ञमान राजभण्डारी हुनुहुन्छ । सदस्यहरुमा ठाकुर तिमिल्सेना, विनेश रिमाल, विष्णुप्रसाद वस्ती, रेणु योञ्जन र सविनकुमार सिग्देल हुनुहुन्छ ।