दुर्गा प्रसाईंकाे हतियार लाइसेन्स बारे अनुसन्धान गर्न गृहले बनायो छानविन समिति
काठमाडौं, १६ चैत्र । मेडिकल व्यवसायी दुर्गा प्रसाईंबाट बरामद गरिएकाे अत्याधुनिक हतियारकाे लाइसेन्सबारे अनुसन्धान गर्न गृह मन्त्रालयले छानविन समिति गठन गरेको छ ।
मन्त्रालयले सहसचिव राजेन्द्रदेव पाण्डेको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा गृह मन्त्रालयका उपसचिव (कानून)का ऋषि पौडेल, नेपाल प्रहरीका प्रहरी उपरिक्षक सन्तोष भट्टराई, र गृह मन्त्रालयका उपसचिव सदस्य रहेका छन् ।
गत ५ गते सर्वोच्च अदालत परिसरमा अत्याधुनिक हतियारसहित दुर्गा प्रसाईंका अंगरक्षक दीपक खड्का र रामकुमार धिमाल पक्राउ परेका थिए । उनीहरुले दुर्गा प्रसाईंले अनुमति लिएकाे हतियार बाेकेका थिए ।
जिल्ला प्रशासन कार्यालय, झापाबाट २०७५ असार २१ म दुर्गाप्रसाद प्रसाईको नाममा जारी भएको इजाजतपत्र २२ बोर ए३५४७५२को पेस्तोल लिएर सर्वोच्च अदालत प्रवेश गर्न खोज्ने क्रममा अंगरक्षक खड्का र धिमाल पक्राउ परेका थिए ।
उक्त हतियार सर्वोच्च अदालतबाट कानून विपरित इजाजतपत्र जारी भएको देखिन आएकोले सो इजाजतपत्र के कसरी नवीकरण भएको हो भन्ने सम्बन्धमा आवश्यक छानविन गर्न र अदालत, न्यायिक निकाय वा अन्य संवेदनशील क्षेत्रमा कुनै पनि हतियार लिई प्रवेश गर्न नपाउने सम्बन्धमा आवश्यक व्यवस्था गर्नु भनी सर्वोच्च अदालतको आदेश जारी भएकोले समिति गठन गरेको मन्त्रालयले जनाएकाे छ ।