गुल्मीमा तीन दिनदेखि लागेको डढेलोले ६७ भन्दा बढी घरगोठ जले, करोडौँको क्षति

गुल्मी, ९ वैशाख । गुल्मीमा तीन दिनदेखि लागेको डढेलोले करोडाैंको क्षति पुर्याएकाे छ ।सामुदायिक वन र निजी वनबाट सल्केको डढेलोले ६७ भन्दा बढी घर गोठ जलेका छन् । दर्जनौँ पशुचौपाया आगोले गोठमै जलेर मरेका छन् ।

शनिबार चलेको हावाहुरीका कारण डढेलो निभाउन नसक्दा आगो बस्तीमा प्रवेश गरी घर जलेका थिए । बस्तीमा आगो प्रवेश गरेपछि सर्वसाधारणले बारीका पाटामा बसेर ज्यान जोगाएका थिए । स्थानीयवासीलाई आगो निभाउने भन्दा कसरी ज्यान जोगाउने भन्ने त्रासदीपूर्ण अवस्था सिर्जना भएको थियो ।

इस्मा गाउँपालिकामा आगलागीबाट शनिबार मात्र ६७ वटा घरगोठ जलेर नष्ट भएका छन् । इस्मा गाउँपालिका– २ सिदुङखाको रानी सामुदायिक वनमा लागेको डढेलो अचानक बस्ती पसेपछि हस्तीचौरको सिदुङखामा १३ घर र २६ बङ्गला जलेर नष्ट भएका छन ।

त्यसैगरी इस्मा गाउँपालिका–४ को तिम्लेखर्कमा सात घर र १६ वटा बङ्गला र गोठसहित एउटा मन्दिर जलेको छ । सोही वडाको भड्किनामा एक घर र चारवटा बङ्गाला र एउटा खोर जलेको इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिङ खड्काले जानकारी दिनुभयो ।

इस्मा गाउँपालिका–१ मा लागेको डढेलोका कारण आगलागीका कारण ४० भन्दा बढी चौपाया जलेर मरेका छन् भने ट्याक्टर चालक स्थानीयवासी १९ वर्षीय हिमाल राना र मुसिकोट नगरपालिका-७ पल्टारका २१ वर्षीय प्रेम राना घाइते भएका छन् । उनीहरुको हात खुट्टा र अनुहार जलेको प्रहरीले जनाएको छ ।

घाइतेको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ । उनीहरु खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शङ्करप्रसाद पोख्रेलले बताउनुभयो ।

अगलागीले विस्थापित परिवार छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् । इस्मा गाउँपालिका र नेपाल रेडक्रसको सहयोगमा पीडित परिवारलाई तत्कालका लागि अत्यावश्यक खाद्यान्न, लत्ताकपडा, किट, लाइट, पानी, चाउचाउ तथा भाँडाकुँडा लगायतका सामग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष खड्काले बताउनुभयो ।

आगलागी क्षेत्रमा, स्थानीय पालिका, जिल्ला प्रशासन, सुरक्षा निकाय, डिभिजन वन कार्यालय लगायतको टोली परिचालन गरिएको छ । इस्माको हुल र कोटकोटेरी दुई स्थानमा डढेलो लागेको छ । हुलमा लागेको डढेलो बस्ती पसेपछि टोकली बस्नेतको बङ्गालो, सूर्य र गुञ्जबहादुर बस्नेतको गोठ जलेर नष्ट भएका छन् । एक भैसी र नौ बाख्रा मरेका छन् ।

इस्मा गाउँपालिका–४ कै कोटकोटेरीमा जङ्गलको डढेलो बस्ती पसेपछि स्थानीयवासी ऋषिराम खनाल, बलबहादुर दर्जी, सरिता अधिकारी, ज्ञानु अधिकारी, बिमला अधिकारी, सुरेन्द्रलाल विक, रामबहादुर अधिकारी, गोरखनाथ विकको घर र खगेश्वर विकको बङ्गाला जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । गाउँमा पानीकाे पाइप जलेपछि खानेपानीको चरम अभाव भएको छ ।