कैलालीका थारु समुदायमा भजहरको रौनक

इन्द्राकुमारी केसी
कैलाली, २३ वैशाख । शनिबार कैलालीको भजनी नगरपालिका–९ पचमुडियाका एक सय ७४ थारु समुदायका घर परिवार बिहानैदेखि खुला चौरमा गई बसे । लहरै खाना पकाउनका लागि चुलो बनाइएको छ भने खाने कुरा पनि राखिएका थिए । बिहानै गएका उनीहरु बेलुका अबेर घर फर्किए ।

शनिबार नै कैलालीको घोडाघोडी नगरपालिका–८ दीपनगरका थारु समुदाय पनि नदी छेउमा गई बसे । बिहानै गएका उनीहरु त्यहीँ खानपिन गरेर बेलुका घर फर्किए । गएको मङ्गलबारदेखि बिहीबारसम्म घोडाघोडी नगरपालिका–११ सिसैयाका ६२ थारु परिवार पनि कन्द्रा नदी किनारमा खुला आकाशमुनि त्यसैगरी बसेर फर्के । खानेकुरासहित दुई रात बास बसेर उनीहरु घर फर्के ।

यसरी नदी छेउ गएर खुुलाचौरमा उनीहरु कुुनै बाध्यताले नभई थारुहरुको महत्वपूर्ण पूजा भजहर मनाउन बसेका थिए । अहिले कैलाली कञ्चनपुरलगायतका थारु समुदायमा भजहरको रौनक छाएको छ । भजहर मनाउन उनीहरु खुला चौरमुनि बसिरहेका देखिन्छन् । वैशाख महिनामा मनाइने यो पर्व थारु समुुदायले गर्ने पूजामध्ये एक हो । यो पूजासँगै थारु समुदायमा लवाङ्गी पूजा, हरहर पूजा गर्ने गरिन्छ । लवाङ्गी र हरहर पूजा अन्नबालीसँग जोडिएको हुन्छ भने, भजहर गर्मीयाम सुरु भएसँगै विभिन्न रोगव्याधिले सताउने हुँदा त्यस्ता रोग व्याधि नलागोस् भनेर पूजा गरिन्छ ।

भजहरको दिन बिहानै गुरुवामार्फत नवदुर्गाको पूजा गरिन्छ । दुर्गालाई खुसी पार्न पशुपक्षीको बलि दिने, गुरुवाले आफ्नो जिब्रो छेडेरे देवीलाई रगत चढाउने गरेको घोडाघोडी नगरपालिकाका नगर भल्मन्सा बुधराम चौधरीले जानकारी दिनुभयो । यसले गर्दा महामारी, रोग व्याधि हट्ने मान्यता रहेको उहाँले बताउनुभयो । पूजाका लागि गाउँका सबै जना मिलेर पैसा सङ्कलन गरी भेडा, पाठी, सुँगुर र कुखुरा बलि दिने गरिन्छ ।

दुर्गालाई पूजा गरे सुुखशान्ति छाउने र कुनै पनि महामारीले नछुने गुरुवा पञ्चराम चौधरी बताउनुहुन्छ । पहिले र अहिले भजहर मनाउने तरिका केही फरक भएको छ । पहिले नौदेखि सात दिनसम्म भजहर बस्ने गरिन्थ्यो । अहिले एक दिन मात्रै बस्ने गरिन्छ । कतिपय समुदायमा अहिले पनि पाँच दिन, तीन दिन र साढे दुई दिन पनि बस्ने गरिन्छ । कठरिया समुदायमा दुई दिन पूरा र एक दिन आधा बस्ने गरिन्छ जसलाई अढैया भजहर भन्ने गरेको घोडाघोडी नगरपालिका–११ का भलमन्सा गयाप्रसाद कठरियाले जानकारी दिनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *