प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि सर्यो
काठमाडौँ, ६ जेठ । आज बिहान ११ बजे बस्नेगरी तय भएको प्रतिनिधिसभाको बैठक आजै दिउँसो २ बजेका लागि सारिएको छ ।
प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले विशेष कारणबस तोकिएको समयमा बैठक बस्न नसकेपछि समय परिवर्तन गरिएको जानकारी दिनुभयो ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उठाउँदै आएको सहकारीको रकम हिनामिना सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्ने विषयमा दलहरू सहमत भए पनि समितिको कार्यादेश टुङ्गो लाग्न सकेको छैन । छानबिन समितिको कार्यादेशबारे अहिले दलहरुबीच छलफल चलिरहेको छ ।
आजै बसेको प्रतिपक्षी दलहरुको बैठकले छानबिन समिति गठन गर्ने र त्यसपछि मात्रै संसद्को कार्यसूची अघि बढ्न दिने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठन गर्ने र त्यसको कार्यादेश टुङ्गो लागेपछि संसद्को कार्यसूची अघि बढ्ने बताउनुभयो ।
आज संसद् भवनमा भएको विपक्षी दलका नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिनुहुँदै लेखकले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्दा अवरोध नगर्ने र संसदीय छानबिन समिति गठनको टुङ्गो लागेपछि मात्रै संसद्को कार्यसूची अघि बढ्न दिने निर्णय भएको बताउनुभयो ।
छानबिन समितिको कार्यादेशका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच अहिले पनि छलफल चलिरहेको लेखकले बताउनुभयो । कार्यादेश टुङ्गो लागेर छानबिन समिति बनेपछि संसद्का गतिविधि सहजरुपमा अघि बढ्ने उहाँको भनाइ छ ।