गण्डकीमा पन्द्र सय किलोमिटर सडक स्तरोन्नति

म्याग्दी, २४ जेठ गण्डकी प्रदेश सरकारले सात वर्षमा पन्द्र सय किलोमिटरभन्दा बढी सडक स्तरोन्नति गरेको छ ।

चालु आर्थिक वर्षमा थप एक सय १९ किलोमिटर सडक कालोपत्र र ४१ दशमलव २ किलोमिटर ढलान भएको छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार चालु आवको करिब ११ महिनामा सालबसाली र बहुुवर्षीय आयोजनामार्फत थप सय किलोमिटरभन्दा बढी ग्राभेल भएको छ । गत आव २०७९/०८० सम्म पाँच सय ९९ किलोमिटर सडक ग्राभेल र छ सय ६८ किलोमिटर कालोपत्र भएको थियो ।

प्रदेश स्थापना भएदेखि हालसम्म आठ सय ८२ किलोमिटर सडक कालोपत्र र ढलान गरी स्तरोन्नति गरेका छौँ, उक्त मन्त्रालयअन्तर्गतको पूूर्वाधार विकास निर्देशनालयका निर्देशक महेन्द्र बानियाले भन्नुभयो, “सडक निर्माण र स्तरोन्नतिमा हालसम्म रु ४८ अर्ब भन्दा बढी खर्च भएको छ ।”

बाह्र अर्ब पुँजीगत बजेट रहेको भौतिक मन्त्रालयले चालु आवमा पुराना बहुवर्षीय र सालबसालीसहित एक हजार चार सय ६४ योजनालाई वार्षिक कार्यक्रममा समावेश गरेको थियो । यस वर्ष एक सय २७ प्रादेशिक सडक, पाँच वटा सङ्घीय समपूरक सडक, ३० पक्की पुल र चार झोलुङ्गे पुल आयोजना बहुुवर्षीय ठेक्कामार्फत कार्यान्वयन भएका छन् ।

निर्देशक वानियाका अनुसार बहुवर्षीय योजनका सडक, मोटरेबल र झोलुुङ्गे पुलका लागि रु १२ अर्ब ७३ करोड ९८ लाख बजेट सुनिश्चित भएको छ । अधिकांश तीन वर्ष र केही योजना दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य छ ।