तारकेश्वरले तेस्रोलिङ्गीलाई मासिक पाँच हजार प्रोत्साहन भत्ता दिने
काठमाडौँ, ९ असार । तेस्रोलिङ्गीलाई काठमाडौँको तारकेश्वर नगरपालिकाले मासिक रु पाँच हजार प्रोत्साहन भत्ता दिने भएको छ ।
नगरभित्र स्थायीरुपमा बसोबास गर्ने तेस्रोलिङ्गीलाई तारकेश्वरले तेस्रोलिङ्गी भनेर कानुनसम्मत पहिचान भएका स्थायी नगरवासीलाई प्रोत्साहनस्वरुप आर्थिक वर्ष २०८१/८२ देखि मासिक रु पाँच हजार प्रदान गर्न लागेको हो ।
नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले संविधानले गरेको परिकल्पनाअनुसार तेस्रोलिङ्गी समुदायलाई प्रोत्साहन गर्न भत्ताको व्यवस्था गरिएको जानकारी दिनुभयो । नेपालको संविधानको धारा ३८ र धारा ४२ मा राज्यका निकायमा समान सहभागिता र यौनिक तथा अल्पसङ्ख्यक समुदायलाई विभेद गर्न नहुने उल्लेख गरिएको छ ।
संविधानले परिकल्पना गरेअनुरुप नगरपालिकाले उक्त व्यवस्थालाई कार्यान्वयनमा ल्याएको नगरप्रमुख महर्जनले बताउनुभयो । लैङ्गिक हिंसा, घरेलु हिंसा, महिला हिंसालगायत सबै किसिमका हिंसाविरुद्ध सरोकारभएकाको सहभागितामा विभिन्न कार्यक्रम सञ्चालन गरी हिंसामुक्त समाज निर्माण गरिने उहाँको भनाइ छ ।
नगरप्रमुख महर्जनले पिछडिएका, एकल तथा दलित महिलाको आर्थिक, सामाजिक र राजनीतिक सशक्तीकरणका लागि समूह, समिति तथा संस्था गठन गरी व्यावसायिक विकास, सीपमुलक तालिमलगायत कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।