दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र, प्रतियोगिता सुरु हुन ३० दिन बाँकी
सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन ३० दिन बाँकी रहँदा आयोजकले तयारीलाई तीव्रता दिएका छन् । प्रतियोगिताको तयारीस्वरूप शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले ३० दिने काउन्टडाउनको शुभारम्भ गरेका छन् ।
काउन्टडाउन शुभारम्भ गर्दै मन्त्री पोखरेलले सङ्घीय सरकार, कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाबीचको समन्वय तथा सहकार्यमा प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन र स्रोत परिचालन भइरहेको जानकारी दिए ।
उनले राष्ट्रिय खेलकुद प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै सबै तहका सरोकारवालालाई आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्न आग्रह गरे । कर्णालीमा हुन लागेको खेलकुद क्षेत्रको ठूलो प्रतियोगितालाई सफल बनाउन प्रचारप्रसारका गतिविधि पनि व्यापक बनाइने उनले बताए ।
कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्नु प्रदेशको प्रतिष्ठासँग जोडिएको विषय भएको बताए । प्रदेश सरकार सहआयोजक भए पनि प्रतियोगिता सफल बनाउन विशेष प्राथमिकताका साथ काम भइरहेको उनको भनाइ थियो ।
मुख्यमन्त्री शाहीले रङ्गशालाको पूर्वाधार निर्माणसम्बन्धी काम पूरा भइसकेको जानकारी दिँदै मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि खेलाडी तथा पाहुनाको आवास व्यवस्थापन र आवश्यक वातावरण निर्माणमा प्रदेश सरकार जुटिरहेको बताए ।
सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहत्ताले प्रतियोगिताको प्रचारप्रसारलाई राष्ट्रव्यापी बनाउँदै तयारीका कामलाई तीव्रता दिइएको बताए ।
यसैबीच, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य रवीन्द्र चन्दले कर्णालीको खेलकुद गीत सार्वजनिक गरेका छन् । उनले एक साताभित्र रङ्गशालाको संरचना हस्तान्तरण गरिने जानकारीसमेत दिए ।
