राष्ट्रिय सभाबाट बजेट सर्वसम्मत पारित

काठमाडौं, २१ असार । राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मत पारित भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि संघीय संसदको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गर्नुभएकाे थियाे । जुन बजेट असार ११ गते प्रतिनिधि सभाले पारित गरेको थियो । साेही बजेट शुक्रबार राष्ट्रिय सभाले पनि पारित गरेको हो ।

सभाध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधि सभाबाट पारित भएर गएको विनियोजन विधियेक निर्णयार्थ प्रस्तुत गर्दा प्रतिपक्षी बेन्चमा रहेका कांग्रेससहितका सांसद मौन रहेपछि बजेट सर्वसम्मत पारित भएको हो ।

राष्ट्रिय सभाले अर्थमन्त्री पुनले प्रस्तुत गर्नुभएकाे बजेट आश्रित तीन वटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मत रूपमा स्वीकृत गरेको छ । जसमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक रहेका छन् ।

यी तीन वटा विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा गएका थिए । विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा सत्तापक्षमा रहेका सांसदहरूले हुन्छ भन्ने पक्षमा मत प्रकट गरे भने विपक्षमा रहेका कांग्रेस सहितका सांसदहरू मौन रहेपछि सभाध्यक्ष दाहालले तीन वटै विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको घोषणा गर्नुभयाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *