चार दिनदेखि अवरुद्ध भएकाे बुद्धसिंह मार्ग खुल्यो

तनहुँ, २६ असार । पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंह मार्गको पहिराे हटाइएको छ ।

तनहुँको सदरमुकाम दमौलीबाट चितवनको घुमाउने निस्किने उक्त मार्गको विभिन्न ठाउँमा गएको पहिरो हटाउन सोमबार साँझदेखि काम सुरु गरिएको थियो ।

पहिराले विभिन्न ठाउँमा ठूलाठूला ढुङ्गा खसेपछि गत शनिबारदेखि उक्त मार्ग अवरुद्ध थियो । स्थानीयवासी सिद्धान्त थापामगरका अनुसार व्यास नगरपालिका–१३ बेलबास निउरोघारीमा गएको पहिरो सोमबार नै हटाइएको छ भने साना पहिराे मङ्गलबार बिहानबाट हटाइएको थियो । उहाँले भन्नुभयो, “ठूला ठूलो ढुङ्गा खसेका ठाउँमा सोमबार नै पहिरा हटाइएको छ, अरु सहायक बाटोमा मङ्गलबार बिहानदेखि काम सुरु गरिएको थियो ।”

गण्डकी प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको बुद्धसिंह मार्गले तनहुँको सदरमुकाम दमौली र चितवनको घुमाउने जोड्छ । उक्त सडक हुँदै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिका केही वडाका हजारौँ नागरिक दैनिक आवतजावत गर्ने गर्छन् ।

गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटोदूरीको वैकल्पिक सडकका रूपमा उक्त सडकलाई लिने गरिएको छ ।

उक्त बुद्धसिंह मार्गलाई मुग्लिन–नारायणगढ सडकसँग जोड्ने चितवनको घुमाउनेमा पक्कीपुल निर्माणाधीन अवस्थामा छ । सो पुलको निर्माण सम्पन्नपश्चात बाटो छोटिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *