बागमती प्रदेशलाई योगमय प्रदेश घोषणा गर्ने तयारी
काठमाडौँ, कार्तिक ३० । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशका १३ वटै जिल्लामा योग साधनाको विस्तार गरी बागमतीलाई योगमय प्रदेश घोषणा गर्ने तयारी भइरहेको बताउनुभएको छ ।
डोलेश्वर मन्दिरस्थित पातञ्जल योग साधना केन्द्रको दोस्रो वार्षिकोत्सव कार्यक्रममा उहाँले योगलाई जनस्वास्थ्यसँग जोड्दै प्रदेशव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले प्रदेश सरकारले आवश्यक कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभयो ।
मुख्यमन्त्री थापाले योग साधनामा सक्रिय पातञ्जल योग, पतञ्जली योग तथा जीवन विज्ञानलगायतका संस्थालाई आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो । योगको विकास र विस्तारका लागि सम्बन्धित संस्थालाई सक्रियतापूर्वक लाग्न आग्रह गर्दै उहाँले सार्वजनिक भवन, विद्यालय तथा सामुदायिक भवनमा बिहानको समयमा नियमित योग अभ्यास सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँका अनुसार प्रदेश सरकारले चालु आर्थिक वर्षमा जनस्वास्थ्य कार्यालयमार्फत योग प्रवर्द्धनका लागि बजेट विनियोजन गरेको छ । उक्त बजेट योग क्षेत्रमा सक्रिय विभिन्न संस्थासँगको सहकार्यमा योग साधनाको विकास र विस्तारमा खर्च गरिने उहाँले जानकारी दिनुभयो ।
मुख्यमन्त्री थापाले डोलेश्वर क्षेत्रमा धर्मशाला निर्माण भएपछि योग साधना तथा अन्य धार्मिक गतिविधि नियमित रूपमा सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिका ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, पातञ्जल योग केन्द्रीय समितिका अध्यक्ष बालमुकुन्द सुवाल र केन्द्रीय महासचिव नवराज काफ्लेलगायतले योग साधनाको महत्व तथा शारीरिक र मानसिक स्वास्थ्य प्रवर्द्धनमा यसले पुर्याउने योगदानबारे चर्चा गर्नुभएको थियो ।
