एमालेको राष्ट्रिय भेला मङ्सिर २ र ३ गते, ओली र पूर्वराष्ट्रपति भण्डारीले सम्बोधन गर्ने

काठमाडौँ, ३० कात्तिक । नेकपा (एमाले) ले पार्टीको वैचारिक तथा सङ्गठनात्मक एकता सुदृढ गर्दै आगामी राजनीतिक कार्यदिशा तय गर्न मङ्सिर २ र ३ गते काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ ।

माइतीघर हाइटस्थित कार्की ब्याङ्क्वेटमा हुने भेलाको उद्घाटन मङ्सिर २ गते बिहान ११ बजे पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।

विभाग प्रमुख निरज आचार्यद्वारा जारी प्रेस विज्ञप्तिअनुसार भेलामा पार्टीको केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीसम्मका पदाधिकारी तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसहित तीन हजार ४१४ जनाको सहभागिता रहनेछ ।

एमालेले पार्टीको इतिहासमा पहिलोपटक पालिका तहका कमिटीदेखि केन्द्रीय नेतृत्व तथा सङ्घीय संसददेखि स्थानीय तहसम्मका जनप्रतिनिधिलाई एउटै मञ्चमा सहभागी गराएर राष्ट्रिय भेला गर्न लागेको जनाएको छ ।

भेलाको मुख्य उद्देश्य पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले पारित गरेका दुई प्रमुख कार्यभार र गर्नुपर्ने १५ कामलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु रहेको विज्ञप्तिमा उल्लेख छ । साथै, आगामी स्थानीय तह निर्वाचनको तयारी, पार्टीको राजनीतिक दृष्टिकोणमा एकरूपता तथा वैचारिक र सङ्गठनात्मक एकता सुदृढ बनाउने विषयलाई प्राथमिकता दिइनेछ ।

भेलामा अध्यक्ष ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गर्दै पार्टीको दृष्टिकोण र आगामी कार्यदिशाबारे सम्बोधन गर्नुहुनेछ । पार्टीकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि समसामयिक राजनीतिक विषय र पार्टीका कार्यभारबारे विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

भेलामा सहभागी हुने केन्द्रीय कमिटी, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष, सङ्घीय तथा प्रदेश सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुखलगायत विभिन्न तहका प्रतिनिधि रहनेछन् ।

पार्टीले भेलाका सहभागीलाई स्थानीय तह निर्वाचन केन्द्रित सुझाव अनिवार्य रूपमा लिखितरूपमा पेस गर्न आग्रह गरेको छ । सहभागीका लागि स्वास्थ्य परीक्षण गर्न कार्यक्रमस्थलमा हेल्थ डेस्क राखिने तथा सवारीसाधन पार्किङको व्यवस्था पार्टी केन्द्रीय कार्यालय च्यासलमा मिलाइएको छ ।

भेलामा सहभागीले आफ्नो आवासको व्यवस्था आफैँ गर्नुपर्ने र आवश्यक समन्वय सम्बन्धित जिल्ला सम्पर्क कमिटीले गर्ने व्यवस्था मिलाइएको छ ।

यसैगरी, भेलाको समाचार सङ्कलन तथा सम्प्रेषणका लागि सञ्चारकर्मीलाई उद्घाटन समारोहकाे सभाहलसम्म पहुँच दिइने र त्यसपछिका सत्रबारे जानकारी दिन मिडिया सेन्टरमार्फत नियमित ब्रिफिङ गरिने एमालेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *