टीआरसीमा सहमतिनजिक पुग्यो कार्यदल, के-के भयो छलफल ?
काठमाडौं, ८ साउन । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलकाे बैठकले विवादित विषयलाई सहमतिनजिक पुर्याएकाे छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको कार्यदल बैठकमा सुरक्षाकर्मीका परिवारलाई राहत दिने विषय र सजायसम्बन्धी केही मापदण्डलाई लिएर सहमति नजिक पुगेको हाे ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमति विषयमा छलफल गर्दै सहमति खोज्ने प्रयास गरिएको कार्यदल सदस्य एमालेका प्रमुख सचेतक महेश बर्तौला बताउनुभयाे ।
प्रमुख सचेतक बर्तौलाका अनुसार मानव अधिकारको गम्भीर उल्लंघन, हत्याको परिभाषा, सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्ति र महान्याधिवक्ताले गम्भीर मानव अधिकार उल्लंघनको विषयमा घटि मागदाबी लिएर जाने विषयमा सहमति नजिक पुगेको हाे ।
उहाँले चार विषयमा ७० प्रतिशत सहमति जुटेको र बुधबार बस्ने कार्यदलले टुंग्याउने बताउनुभयाे । त्यस्तै कार्यदल सदस्य जनार्दन शर्माले नमिलेका विषयमा सहमतिको प्रयास गरिएको र भाषागत प्रक्रिया मिलाउन बाँकी रहेको बताउनुभयाे ।
संक्रममणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन यसअघि शीर्ष दलका नेता सम्मिलित तीन सदस्यीय कार्यदल गठन गरिएको थियो ।