बेतबाँसका सामग्रीबाट आत्मनिर्भर ललिता

कैलाली, १५ साउन । धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी ललिता चौधरीले लामो समयदेखि व्यावसायिक रुपमा बेतबाँस हस्तकला उद्यम सञ्चालन गर्दै आउनुभएको छ ।

बेतबाँसबाट विभिन्न सामग्री उत्पादन गर्दै आउनुभएकी उहाँलाई श्रीमान् र परिवारको साथ सहयोग छ । बेतका सामग्री बनाउने उहाँले अहिलेसम्म कुनै पनि तालिम लिनुभएको छैन ।

सुरुमा दिदीको काममा सहयोग गर्दै आएकी उहाँले काम सिकेपछि उद्यम सुरु गर्नुभएको हो । विसं २०७५ मङ्सिरमा घरेलु कार्यालय धनगढीमा फार्म दर्ता गरी उहाँले उद्यम सुरु गर्नुभएको हो र उहाँको घरपरिवारको सम्पूर्ण खर्च धान्ने स्रोत यही बेतबाँस उद्योग बनेको छ । दुई छोरी, एक छोरा, श्रीमान् र आफूसमेत गरी पाँच जनाको उहाँको परिवार छ ।

“व्यवसाय सुरु गर्दा आर्थिकस्थिति एकदमै कमजोर थियो । फर्म दर्ता गर्न मसँग पैसा थिएन । व्यवसाय गर्नका लागि भतिजासँग रु दुई हजार पाँच सय सापटी मागेकी थिए, सोही रकमबाट टीकापुरको सतिबाट बेतबाँस खरिद गरी व्यवसाय सुरु गरेकी हुँ” उहाँले भन्नुभयो, “तर अहिले सोही व्यवसायबाट अर्थोपार्जन गरी आत्मनिर्भर बनेको छु, कसैसँग हात फैलाउनु परेको छैन, घरपरिवारको पूरै खर्च यही व्यवसायले धानेको छ ”।

सुरुका दिनमा बेतबाट निर्माण गरेका सामग्रीले बजार पाउन कठिन भए पनि अहिले भने यसको माग बढ्दै गएको उहाँले सुनाउनुभयो । यही उद्यमबाट छोराछारीलाई धनगढीको राम्रो बोर्डिङ स्कुलमा पढाइरहेको उहाँले बताउँनुभयो । उहाँले बेतबाट ह्याङगर, फूलदानी, पिर्का, झुलालगायतका सामग्रीको उत्पादन र बिक्री गर्दै आउनुभएको छ । उहाँले प्रति ह्याङ्गर रु एक हजार पाँच सय, फूलदानी रु चार सय, कुर्सी तीन हजार, पिर्का रु तीन सयमा बिक्री गर्दै आउनुभएको छ । बेतबाँसका विभिन्न सामग्री बेचेर मासिक रु ७० हजार बराबरको कारोबार हुने गरेको उहाँले सुनाउनुभयो ।