नेवा: समुदायकाे माैलिक पर्व गठामुंग (घण्टाकर्ण) मनाइँदै

काठमाडाैं, १८ साउन । नेवा: समुदायकाे माैलिक पर्व गठामुंग (गल) आज मनाइँदै छ ।

प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने यस गठामुंग पर्व विषेशगरि काठमाडौं उपत्यकाका नेवा: समुदायले मनाउने गरिन्छ ।

घण्टाकर्ण पर्वलाई नेवा: समुदायले विषेश चाडकै रूपमा मनाइन्छ । यस पर्व परापूर्व कालमा दोबाटो चौवाटोमा बसेर जे पायो त्यही खाने र बाटो हिड्ने मानिससित जगात पैसा उठाई दुःख दिने घण्टाकर्ण गठामुंग नाम गरेको राक्षस मारिएको दिन सम्झेर यो पर्व मनाइदै आएकाे पाइन्छ ।

मानवता विरोधी राक्षसबाट मुक्ति पाएको सम्झनामा बिहानै स्नान गरी घरलाई सफा सुग्घर पारेर हरियो नर्कट, निगालो र गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षस बनाई दोबाटो चौबाटोमा उभ्याइन्छ ।

राति राँको बालेर भूत भगाइन्छ र पुतलाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्‍याइन्छ । घण्टाकर्ण राक्षसलाई अश्लील शब्द प्रयोग गरी गाली र गीत गाउँदै डाेबाटाेमा जलाइन्छ ।