हामीले खेल खेल्ने जित्नकै लागि हो, त्यसकारण जित्छु भन्ने आशा बोकेर लाग्नुस् : प्रधानमन्त्री ओली

काठमाडौँ, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय महिला भलिबल टोलीसँग करिब दुई घण्टा व्यतित गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले, खेल प्रशिक्षक एवं खेलाडीबीच भलिबलले हालसम्म हासिल गरेका उपलब्धि, थप पूर्वाधार विकास र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालले कसरी विजय सुनिश्चित गर्न सक्छ भन्ने विषयमा छलफल भएको थियो । भेटघाटकाे क्रममा उहाँले खेल खेल्ने जित्नकै लागि भएकाे भन्दै जित्छु भन्ने आशा बोकेर लाग्न प्रेरित गर्नुभयाे ।

प्रधानमन्त्री निवास, बालुवाटारमा ब्रेकफास्टसँगै मुलुकको कार्यकारी प्रमुखसँग सम्भवतः पहिलो पटक यस प्रकारको भलाकुसारी गर्ने अवसरले आफूहरुलाई उत्साहित तुल्याएको खेल नेतृत्वकर्ता, प्रशिक्षक र खेलाडीहरुले बताए ।

प्रधानमन्त्री ओलीसँगको छलफलमा नेपाली महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट, कप्तान अरुणा शाही, नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्द, खेलाडी सरस्वती चौधरीलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रधानमन्त्री ओलीले दुई साताअघि सम्पन्न ‘काभा वुमन्स नेसन्स भलिबल प्रतियोगिता’ हेर्न आफूले चाहे पनि मन्त्रिपरिषद्को आकस्मिक बैठकका कारण जान नसकेको अवगत गराउँदै खेलाडीको प्रगति, चाहना र मागबारे आफू जानकार रहेको बताउनुभयो । उहाँले प्रतियोगिताका उपविजेता खेलाडीलाई नेपाल सरकारले जनही रु तीन लाख दिने निर्णय गरेको जानकारी गराउनुभयो । खेलाडीहरुले त्यसका लागि प्रधानमन्त्री ओलीप्रति आभार व्यक्त गरेका थिए ।

भलिबल खेलको विकासका लागि प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने सङ्कल्प गर्नुभयो । “सरकारको ढुकुटीमा धेरै रकम छैन, तर हामी गर्नैपर्ने काम गर्नेछौँ । आगामी खेलमा जित्छौँ, जुन तपाईंहरुको मनोबल छ, त्यो साकार होस्”, उहाँले भन्नुुभयो, “हामीले खेल खेल्ने जित्नकै लागि हो, त्यसकारण जित्छु भन्ने आशा बोकेर लाग्नुस् । सफलता पक्कै मिल्नेछ ।’’

प्रधानमन्त्री ओलीले गत महिना रुसी महिला भलिबल खेलाडीहरुले आफूसँगकोे भेटमा नेपाली टोलीको प्रशंसा गरेको स्मरण गर्दै विश्वस्तरका खेलाडीबाट भएको प्रशंसाभित्र नेपाली टोलीको सम्भावना लुकेको बताउनुभयाे ।