गाई दुहुने मेसिन पाएपछि सुनसरीका किसान खुसी

सुनसरी, ११ भदौ । इनरुवाका गाईपालक किसान अनिल यादवको कृषि फर्ममा १० वटाभन्दा बढी गाई छन् । विगतमा उहाँलाई ती गाई दुहुन निकै समस्या थियो । “एकै गाई दुहुन २० मिनेटभन्दा बढी समय लाग्थ्यो । सरसफाइको विषयमा उपभोक्ताहरूले पनि प्रश्न गर्थे तर अचेल भने केही सहज हुँदैछ”, उहाँले भन्नुभयो ।
स्थानीय इनरवा नगरपालिकाले अन्य दुई जनासहित उहाँलाई पनि गाई दुहुने मेसिन प्रदान गरेपछि सहज भएको हो । नगरपालिकाले नगर क्षेत्रभित्र रहेका तीनजना व्यावसायिक पशुपालक किसानलाई केही दिनअघि मेसिन प्रदान गरिएको जनाएको छ ।
नगरपालिका प्रमुख केदार भण्डारीले गाई फार्म व्यवस्थित गर्न र दूध उत्पादन बढाउने उद्देश्यअन्तर्गत ५० प्रतिशत अनुदानमा मेसिन सहयोग गरिएको जानकारी दिनुभयो । “गोठ तथा फार्ममा १० भन्दा बढी गाईपालन गर्ने किसानलाई छनोट गरिएको थियो । हातले दुहुदा ढिलो हुने र सरसफाइलगायत समस्या हुने गरेको गुनासोपछि पहिलो पटक व्यावसायिक किसानलाई मेसिन दिएका हौँ”, उहाँले भन्नुभयो ।
नगर पशु शाखा प्रमुख डा राजकुमार यादवले समय लागत घटाउने,  सजिलै गरी बढी र सफा दूधसमेत दुहुन मेसिनबाट सहयोग पुग्ने बताउनुभयो ।
मेसिन प्राप्त भएपछि गाई दुहुन सहज भएको स्थानीय किसान राजेश्वर यादवले बताउनुभयो । मेसिन पाएपछि विगतमा गाई दुहुदा भोगेका समस्या समाधान गर्न सहज भएको उहाँ खुसी हुनुहुन्छ ।