सरकारले राजनीति र नीतिगत स्थिरताको वातावरण तयार गरेको छ : उपप्रधानमन्त्री पौडेल

काठमाडाैं, १५ भदौ । उपप्रधान तथा अर्थमन्त्री पौडेलले विकास र समृद्धिका लागि अहिले अनुकूल वातावरण बनेको स्पष्ट पार्नुभएको छ ।  उहाँले वर्तमान सरकार गठन भएपछिको छोटो अवधिमा महत्त्वपूर्ण उपलब्धि प्राप्त गरिसकेको दाबी समेत गर्नुभयो ।
लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवनको आज शिलान्यास गर्नुहुँदै अर्थमन्त्री पौडेलले भन्नुभयो,“अर्थतन्त्र दबाबमा छ, निराशामा रहेका निजी क्षेत्रलाई आशा, विश्वास र भरोसाका साथमा  उत्पादन र उत्पादकत्वमा लाग्न जरुरी छ ।”
उहाँले पौडेलले दुई ठूला पार्टी मिलेर बनेको वर्तमान सरकार देशलाई अस्थिरताबाट जोगाउनु प्रमुख उद्देश्य रहेको बताउनुभयाे । उहाँले नागरिकका अधिकार स्थापित गर्न लोकतन्त्र, नागरिकका अधिकारका लागि मुख्य दुई पार्टी मिलेर वर्तमान सरकार बनेको जनाउँदै यसले एकसाथ राजनीति र नीतिगत स्थिरताको वातावरण निर्माण गरेको बताउनुभयो ।
विकासका काममा सत्ता र प्रतिपक्ष मिलेर काम गर्नुपर्छ उहाँले भन्नुभयो । उहाँले विकास निर्माणमा सत्तापक्ष प्रतिपक्षसँग सँगसँगै हिँड्ने र यसको राम्रो संस्कार लुम्बिनी प्रदेशमा रहेको बताउनुभयो । उहाँले प्रादेशिक अस्पतालको अत्याधुनिक भवन निर्माण आयोजना सम्पन्न गर्न जनस्तरबाट नियमित निगरानी हुनुपर्ने बताउनुभयो ।
उहाँले आयोजना समयमै सक्न निर्देशन दिँदै समयमै काम सकेर स्यावासी कमाउन प्रदेश सरकार, प्रदेश पूर्वाधार विकास प्राधिकरण र निर्माण कम्पनीलाई आग्रह गर्नुभयो ।
अर्थमन्त्री पौडेलले भवनमात्र निर्माण गरेर नहुने उल्लेख गर्दै त्यसको प्रभावकारी व्यवस्थापनमा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले अस्पतालको भवन निर्माणसँगसँगै जनशक्ति र उपकरण व्यवस्थापनको प्रक्रिया पनि बेलैमा योजना बनाएर अघि बढ्न आग्रह गर्नुभयो ।
“भवनमात्र निर्माण गरेर हुँदैन, जनशक्ति व्यवस्थापनका लागि पनि ओएनएम प्रक्रियासँगै थालेर भवन बनेलगत्तै सबै सेवा सञ्चालन गर्नेगरी अहिल्यैबाट काममा लाग्नुपर्छ”, उहाँले भन्नुभयो, “यसमा प्रदेश सरकारले ध्यान दिनुपर्छ, सङ्घीय सरकारले के सहयोग गर्नुपर्छ, त्यसको लागि तयार छ ।”
उहाँले १२ सय शय्याको अस्पतालमा ठूलो सङ्ख्यामा दक्ष जनशक्ति आवश्यक पर्ने भन्दै विशेषज्ञ चिकित्सकसहित जनशक्तिको व्यवस्थापनमा मुख्य ध्यान दिनुपर्ने बताउनुभयो । अस्पताल भवन बन्दैमा अत्याधुनिक उपकरण छैन भने प्रभावकारी उपचार नहुने भन्दै पौडेलले सबै हिसाबले सुविधासम्पन्न अस्पताल बन्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले अस्पताल भवनले सिङ्गो प्रदेशको मात्र नभएर देशकै स्वास्थ्य क्षेत्रलाई परिवर्तन गर्ने बताउनुभयो । “पाँचवटामध्ये चारवटा गौरवका आयोजनाको काम अघि बढेको छ । सङ्घीय सरकारको साथ सहयोग प्रदेश सरकारलाई चाहिएको छ”, उहाँले भन्नुभयो, “गत वर्षको घाटा पूर्ति गर्न सङ्घीय सरकारले ध्यान दिनुपर्ने छ । घाटा पूर्ति भएन भने प्रदेशका गौरवका आयोजना अप्ठ्यारोमा पर्ने जोखिम रहन्छ ।”
लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीले नयाँ बन्ने अस्पताल भवनले आधुनिक अस्पतालको आवश्यकतालाई पूरा गर्ने बताउनुभयाे । निवर्तमान मुख्यमन्त्री जोखबहादुर महराले अस्पताल निर्माण प्रक्रिया केही वर्षअघि नै सुरु भए पनि विविध कारणले हुन नसकेको स्मरण गर्दै शिलान्यासको चरणमा आइसकेकाले अब समयमै गुणस्तरीय काम र समयमै निर्माण सम्पन्न गर्न ध्यान दिनुपर्ने बताउनुभयो ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारुले अस्पतालको हालको अवस्थाबारे जानकारी गराउँदै स्तरोन्नतिपछि यो नमूना अस्पताल बन्ने विश्वास व्यक्त गर्नुभयो ।