एमाले पोलिटब्यूरो बैठक सुरु

काठमाडौँ, १८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठक सुरु भएको छ ।

प्रधानमन्त्री तथा नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।

पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा सचिवालय बैठकबाट तयार पारेको पार्टी कामको योजना र समसामयिक राजनीतिक अवस्थाका विषयमा विस्तृत छलफल हुने जानकारी दिनुभयो । उहाँका अनुसार कार्ययोजनामा सदस्यता नवीकरण र अभिलेखीकरणलाई अझ व्यवस्थित गर्ने, बाँकी जिल्ला अधिवेशन तथा पालिका अधिवेशन समयमै व्यवस्थित रूपमा सम्पन्न गर्ने उल्लेख छ ।

यसैगरी, बैठकमा कार्ययोजनामा पार्टी प्रवेश गर्नुभएकालाई तीन महिनाभित्र कमिटीमा जिम्मेवारी दिइने उल्लेख छ । पार्टीको केन्द्रमा एक र सातै प्रदेशमा पार्टी स्कूलका स्थायी संरचना खडा गर्नेसमेत कार्ययोजनामा समेटिएको छ । सबै पार्टी सदस्यले वर्षको एकपटक अनिवार्य रुपमा पार्टी स्कूलबाट दीक्षित हुनेगरी ढाँचा तयार गरिएको जनाइएको छ ।

साथै कार्ययोजनामा प्रचार कार्यलाई थप व्यवस्थित बनाउने र कमिटीलाई बजेट बनाएर कामलाई अगाडि बढाउने कुरा उल्लेख गरिएकाे प्रमुख गौतमले जानकारी दिनुभयो ।