नेपाली कांग्रेसका सभापति देउवाले भने मेयर बालेनका गतिविधि अराजनीतिक र असहिष्णु
काठमाडौं, १९ भदाै । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहकाे गतिविधि अराजनीतिक र असहिष्णु भएको बताउनुभएकाे छ ।
सभापति देउवा निवास बुढानीलकण्ठमा मंगलवार भएकाे एमाले काठमाडौंका नेताहरूसँगकाे कुराकानीमा उहाँले मेयर शाहका अभिव्यक्ति र गतिविधिप्रति आक्रोश पाेख्नुभएकाे हाे ।
सभापति देउवासँगको भेटमा नेताहरूसँग कुराकानी गर्नुहुँदै खुलामञ्चमा देउडा पर्वको अवसरमा भएको अराजक गतिविधिको प्रसंग निस्किए थियाे । उक्त प्रसंगमा सभापति देउवाले मेयरका अराजक गतिविधिको जिम्मेवार र संयमित ढंगले प्रतिवाद गर्नुपर्ने बताउनुभएकाे एमाले काठमाडौं जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले जनाएकाे छ ।
निरौलाले भन्नुभयाे– खुलामञ्चको घटनाप्रति उहाँ अलि आक्रोशित हुनुहुन्छ । त्यो घटना नियोजितरुपमा गराइएको थियो । यसै प्रसंगमा काठमाडौं महानगरका मेयरस्तरीय निर्णयबाट नदी किनाराका बस्ती हटाउने गरी जारी भएको सूचनाको पनि कुरा भएको हो,उहाँले अराजनीतिक मान्छेहरूले भीड उक्साउँछन्,तर हामी जिम्मेवार दल भएकाले जिम्मेवार ढंगले गलत कुरा रोक्न लाग्नुपर्छ भन्ने आशय व्यक्त गर्नुभयो ।
सभापति देउवाले एमाले नेताहरूकै सामुन्नेबाट कानून मन्त्री अजय चौरसियालाई फोन गरी सर्वोच्च अदालतले नदी किनाराका दुवैतर्फका २०/२० मिटर वरपरका घर बस्ती उठाउने भनी गरेको फैसला अव्यवहारिक र असम्भव रहेको कुरा आएकाले फैसला पुनरावलोकनमा जान निर्देशन दिनुभएकाे थियाे ।