बञ्चरेडाँडा ल्यान्डफिल साइट अब सिसिटिभीकाे निगरानीमा

काठमाडौं, २० भदाै । काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापन हुँदै आएकाे बञ्चरेडाँडा ल्यान्डफिल साइट अब सिसिटिभीबाट निगरानी गर्नेभएकाे छ ।

फोहर व्यवस्थापन हुने गरेको ल्याण्डफिल साइट नुवाकोट र धादिङ जिल्लाको सिमाना बञ्चरेडाँडाकाे निगरानी अब काठमाडौं प्लाजाबाट सिसिटिभीबाट महानगरले निगरानी गर्नेभएकाे हाे ।

संस्थागत सुधारको कार्यक्रममध्ये कार्यसञ्चालन हुने ठाउँका विषयमा जानकारी तथा सूचना लिन सिसिटिभी क्यामरा जडान गरिएको काठमाडौं महानगरपालिकाले जनाएकाे छ ।

साइटमा प्रवेश गर्ने सवारी साधन तथा व्यक्ति प्रवेशसहितका क्रियाकलापमा निगरानी गरेर सम्भावित अनधिकृत क्रियाकलाप रोक्न प्रणाली जडान गरिएको हो।

स्वचालित प्रणाली बढाएर संस्थागत सुदृढीकरण गर्ने क्रममा ल्याण्डफिल साइटमा अत्याधुनिक सिसिटिभी क्यामरा जडान गरिएको छ ।

क्यामराबाट प्राप्त दृश्य प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट निगरानी हुनेछ। यससँगै वातावरण व्यवस्थापन विभागमा पनि दृश्य हेर्न सकिने बनाइएको छ।

साइट व्यवस्थापनको काममा खटिएका जनशक्ति, कार्यालय, साइटमा पुग्ने सडक, सुरक्षा बुथ देखिने गरी क्यामरा राखिएका छन्। ९ वटा क्यामराका दृश्यबाट साइटको निगरानी हुने महानगरपालिकाले जनाएकाे छ ।