ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको ११ दिने न्युयोर्क भ्रमण स्वीकृत गरेको हो ।
न्युयोर्कमा हुने संयुक्त राष्ट्र संघको महासभा बैठकमा भाग लिन जाने प्रधानमन्त्री ओली नेतृत्वको नेपाली टोलीलाई स्वीकृत दिएको सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । ओली असोज ५ गते त्यसतर्फ प्रस्थान गर्नेछन् भने असोज १५ गते स्वदेश फर्किने कार्यक्रम छ । राष्ट्रसंघको महासभा सेप्टेम्बर १० देखि २८ (२५ भदौदेखि १२ असोज) सम्म न्यूयोर्कमा हुँदैछ । त्यस्तै, समिट अफ द फ्युचर २२–२३ सेप्टेम्बर (६–७ असोज) मा हुने तय भएको छ । प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको महासभा र समिट अफ द फ्युचरलाई नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
ओलीले प्रधानमन्त्रीका रुपमा २०७५ असोजमा पनि राष्ट्रसंघ महासभालाई सम्बोधन गरेका थिए । पछिल्लो पटक गएको ३० असारमा प्रधानमन्त्री भएका ओलीको यसपटक यो पहिलो विदेश भ्रमण पनि हो ।
