सुनिता डंगोलवाट काठमाडौं महानगरपालिकामा एकव्दार सेवा शुभारम्भ
काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रवारदेखि कार्यपालिकाको केन्द्रिय कार्यालय ब्लक ‘क’ (उत्तरतर्फको भवन)को भुइँ तलाबाट एकल सेवा केन्द्रबाट एकद्वार सेवा प्रवाह सुरु गरेको छ। काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले एकल सेवा केन्द्रबाट एकद्वार सेवा प्रवाह शुभारम्भ गरेपछि सुरु भएको हो।
काठमाडौं महानगरपालिकाभित्र जुनसुकै सेवा लिन पनि यस केन्द्रमा आएर टोकन लिनुपर्ने, प्रक्रिया, कागजपत्र, सेवा लिने ठाउँ, समयजस्ता विषयमा जानकारी लिएपछि सेवा प्राप्त हुने व्यवस्था भएकोले यसलाई एकद्वार भनिएको महानगरले जनाएको छ।
‘एकल सेवा केन्द्र’ पहुँचयुक्त, पारदर्शी र उत्तरदायी सेवाको आधारभूत पूर्वाधार हो।
शुभारम्भपछि अवलोकन गर्दै उपमेयर सुनिता डंगोलले ‘समय सापेक्ष प्रविधियुक्त सेवा अहिले अपरिहार्य आवश्यकता हो भन्दै यससँगै महानगरपालिकामा सेवा लिन आउने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति सबैलाई समान सेवा दिन केन्द्र स्थापना भएको बताएकी छन्। केन्द्रलाई पहुँचयुक्त बनाउन सांकेतिक भाषा अनुवादक राख्नेसहितका योजना क्रमशः कार्यान्वयन गर्दै जाने पनि उपमेयर डंगोलले जानकारी दिएकी छन्।
