सिन्धुपाल्चाेकमा माओवादी छाेड्नेकाे ताँती, एकैदिन एमालेमा प्रवेश गरे ३१९ जना
सबै तस्बिर : प्रभात श्रेष्ठ, सिन्धुपाल्चाेक चाैतारा
सिन्धुपाल्चाेक, २७ भदाै । नेकपा एमाले चौतारा साँगाचोकगढी नगर कमिटीले आयोजना गरेको बृहत पार्टी प्रवेश तथा जागरण अभियान कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेकाे ताँती लागेकाे छ ।
कमिटीले आयोजना गरेको बृहत पार्टी प्रवेश तथा जागरण अभियान कार्यक्रममा ३ सय १९ जनाले विभिन्न पार्टी परित्याग गरि एमाले मा प्रवेश गरेका हाे ।
नेकपा एमाले सिन्धुपाल्चोकका अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार अधिकांश माओवादी बाट अन्य राप्रपा, समाजवादी र कांग्रेसबाट एमालेमा प्रवेश गरेका छन् । वडा नंम्वर १ बाट १ सय चालीस, वडा नंम्वर ५ बाट ४३ सहित ३ सय १९ जनाले एमाले पार्टी प्रवेश गरेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश ईन्चार्ज राजन भट्टराईले बृहत पार्टी प्रवेश तथा जागरण अभियानको सुरुवात गर्दै गएको निर्वाचनमा केही अलमलका कारण पहिलो पार्टी बन्न नसकेको र अव एमाले पार्टीको घेरावन्दी तोडिएको बताउनुभयो ।
उहाँले नेपाली कांग्रेस र नेकपा एमाले नै अवको मुख्य प्रतिस्पर्धी भएको बताउँदै भन्नुभयाे, ‘माओवादी अव गणनामा आउँदैन, मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसको हो भन्ने थाहा हुँदाहुदै सत्ता साझेदार बनेको छ । यसको खास कारण एमालेप्रतिको घेरावन्दीको अन्त्य र मुलुकको आजको आवश्यकताले हो ।’
भट्टराईले भन्नुभयो, ‘राष्ट्रिय संकटबाट मुक्ति र समृद्धिको लागि वर्तमान गठवन्धनको सरकार निर्माण भएको हो ।’ माओवादीको ओरालो यात्रा आजको पार्टी प्रवेशले प्रष्ट्याएको बताउँदै यस्ता अभियान निरन्तर चल्ने बताउनुभयो ।
