रामेछापकाे सुनारपानीमा बलेरो दुर्घटना, २ जनाकाे मृत्यु, ५ घाइते
रामेछाप, ६ असोज । रामेछापकाे मन्थली नगरपालिका–५ स्थित सुनारपानीमा बलेरो जिप दुर्घटना भएकाे छ । दुर्घटनामा परी दुइजनाकाे मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
सदरमुकाम मन्थलीबाट सुनारपानी हुँदै मन्थली–४ सालुतर्फ जाँदै गरेको बा१८च १८३९ नं को डबल क्याप बलेरो जिप अनियन्त्रित भएर सडकबाट करिब एक सय ५० मिटर तल खसेर दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिनुभयो ।
प्रहरी नायब उपरीक्षक सिंहका अनुसार दुर्घटनामा दुर्घटनामा परी सोही वडाका ६० वर्षीया पद्ममाया नेपालीको घटनास्थलमै मृत्यु भएको हाे । गम्भिर घाइते भएका दिलीपकुमार बरुवालकाे धुलिखेल अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे प्रहरी नायब उपरीक्षक सिंहले जनाउनुभएकाे छ ।
दुर्घटनामा परी सोही वडाका चालक ४२ वर्षीय गुनकुमार थापामगरलाई उपचारका लागि काठमाडौँस्थित आर्मी अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक सिंहले जनाउनुभएकाे छ ।
अन्य घाइतेमा सोही वडाकी ३४ वर्षीया सीता नेपाली, २५ वर्षीया सुजीता रसाइली, २५ वर्षीया सरिता नेपाली र सरिताकी पाँच महिनाका छोरी रोनिषा छन् । सामान्य घाइतेको मन्थलीस्थित रामेछाप सामुदायिक अस्पताल र मन्थली अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिनुभयो ।