आठ महिनाको बच्चा उद्दार गर्ने विकीको टीमः बच्चालाई आफन्तको जिम्मा लगाउँदा अभय खुशी मिल्यो (भिडियोसहित)

काठमाडौं, १२ असोज । अविरलको बर्षापछि आएको बाढीका कारण अहिले काठमाडौं उपत्यका र देशभरीकै जनजीवन भयभीत बनिरहेका छ । राज्यका सबै संयन्त्रहरु उद्दारकार्यमा जुटिरहेका छन् । त्यसैगरी विभिन्न संघ–संगठन पनि उद्दार कार्यमा जुटिरहेका छन् । नेकपा (एमाले)को भ्रातृ संगठन जिफन्टलगायतका संगठनहरु पनि राज्यका विपद् व्यवस्थापन तथा उद्दारका लागि सक्रिय संयन्त्रहरुको सहकार्यमा उद्दार कार्यमा सक्रिय छन् ।

आजै बल्खु र कुलेश्वरको विचमा जिफन्टले गरेको एउटा उद्दार कार्यको भिडियोले धेरैलाई स्तब्ध बनाएको छ । करीब ८ महिनाको एउटा बच्चालाई उद्दार गर्दै गरेको दृष्यले धेरैलाई भावुक बनाएको छ । त्यो उद्दार कार्यक्रमा खटिएका युवा को थिए ? भन्ने धेरैले चासो व्यक्त गरिरहेका छन् । त्यसरी त्यो उद्दार कार्यमा खटिएको टिम जिफन्टको युवा कमिटी थियो । युवा कमिटीका केन्द्रीय अध्यक्ष विकी श्रेष्ठसहितको टीमले त्यसरी उद्दार गरेको हो । ‘

करीब तीन बजेतिर हाम्रो टिम कुलेश्वर पुग्दा त्यहाँ मनै रुवाउने र स्तब्ध बनाउने दृष्य देखियो । करीब ८ महिनाको बच्चासहितलाई उद्दार गर्नुपर्ने थियो,’ उहाँले मैत्रिन्युजसँग भन्नुभयो, ‘हामीले तत्कालै केही नसोची बच्चाको उद्दार गर्यौ । बच्चा रोइरहेको थियो । बच्चा जति रुन्थ्यो त्यति नै म पनि भावुक हुन्थे । जब बच्चालाई उद्दार गरेर आफन्तको जिम्मा लगाइयो । त्यतिबेला उहाँहरुको मुहारमा चम्किएको खुशी देख्दा जीवनको सबैभन्दा ठूलो खुशी प्राप्त भएको अनुभूति भयो ।’
उहाँले सुरक्षा संयन्त्रसँगको समन्वयमै आफूहरु उद्दार कार्यमा खटिएको र अरु धेरैलाई उद्दार गरेको जानकारी दिनुभयो ।