धादिङका प्रहरी प्रमुख पनि तानिए हेडक्वाटर

काठमाडौं, १४ असोज । धादिङ जिल्लाका एसपी गौतम केसीलाई प्रहरी प्रधान कार्यालयले सरूवा गरेर केसीको सट्टामा दीपेन्द्र शाहीलाई प्रहरी प्रमुख बनाएर धादिङ पठाइएको छ ।

बाढी पहिरो जस्ता विपत्तिको जोखिममा काम सन्तोजनक नभएको भन्दै प्रहरी हेडक्वाटरले धादिङका प्रहरी प्रमुख हेरफेर गरेको हो ।

यसअघि गृह मन्त्रालयले धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई पनि मन्त्रालयमा तानेको थियो । धादिङको प्रमुख जिल्ला अधिकारी बनाएर मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई पठाइएको छ ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद पाण्डेलाई पनि मन्त्रालयमा तानेर उनको ठाउँमा उमेश ढकाललाई पठाइएको छ ।