लमजुङमा जगत तातोपानीकुण्ड महोत्सव सम्पन्न
लमजुङ, ३० कात्तिक । लमजुङको मस्र्याङ्दी गाउँपालिकाको आयोजनामा सुरु भएको दोस्रो मस्र्याङ्दी महोत्सवअन्तर्गत आज जगत तातोपानीकुण्ड महोत्सव सम्पन्न भएको छ ।
जगत तातोपानी व्यवस्थापन समितिका अध्यक्ष अदम सिं गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्देश्य तातोपानीकुण्डमा पर्यटन प्रवर्द्धन गर्नु रहेको गाउँपालिकाले जनाएको छ ।
मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले यस्ता धार्मिक, सांस्कृतिक महोत्सव तथा मेलाले स्थानीय कला, संस्कृति, परम्पराको संरक्षण गर्नुका साथै पर्यटकीय स्थानलाई विश्वसामु चिनाउन सहयोग पुग्ने बताउनुभयो ।
अध्यक्ष गुरुङले महोत्सवले पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीय उत्पादनको बिक्री वितरण र बजारीकरणमा सहयोग पुग्ने भएकाले अर्थतन्त्रको चलायमान हुने उल्लेख गर्नुभयो । विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर महोत्सव सम्पन्न गरिएको भन्दै यसले पालिकाको आर्थिक, सामाजिक विकासमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्थानीय परम्परा संस्कृति झल्कने सांस्कृतिक प्रस्तुति, मारुनी नाच प्रस्तुत गर्नुको साथै कुण्डमा अतिथिका लागि स्नान कार्यक्रम आयोजना गरिएको थियो । पर्यटकीय पदमार्गमा यहाँ पर्ने भएकाले स्वदेशी तथा विदेशी पर्यटकहरूको उपस्थिति थियो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईं, लमजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भरतकुमार श्रेष्ठ, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिकाका सदस्यहरूको उपस्थिति थियो ।
