स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
काठमाडौं, २ मङ्सिर । यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । आज बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
उम्मेदवारको विरोधमा मङ्सिर ३ गते उजुरी दिने सकिनेछ भने ४ गते बेलुकासम्म उजुरी उपर जाँचबुझ गरी निर्णय दिनुपर्नेछ ।
आयोगका अनुसार मङ्सिर ५ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । त्यसपछि त्यसै दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ र निर्वाचन चिह्न पनि त्यसै दिन दिइने आयोगले जनाएको छ ।
निर्वाचनका लागि मतदान मङ्सिर १६ गते बिहान ७ देखि बेलुकी ५ बजेसम्म हुनेछ ।
४४ पदका लागि हुन लागेको उपनिर्वाचनका लागि ३८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको आयोगले जनाएको छ ।
यसपटक २ जिल्ला समन्वय समिति प्रमुख, एक/एक नगर प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो । आयोगले आजैदेखि लागू हुनेगरी निर्वाचन आचारसंहिता पनि जारी गरेको छ ।