सानो गौचरनमा रङ्गशाला पुनःनिर्माण सुरु, उपप्रमुख डङ्गोलले गरे शिलान्यास

काठमाडौँ, १३ मङ्सिर । काठमाडौँ महानगरपालिकाले सानो गौचरनमा रङ्गशाला पुनःनिर्माण सुरु गरेको छ ।

काठमाडौँ  महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले एक कार्यक्रमबीच रङ्गशाला आज शिलान्यास गर्नुभएपछि पुनःनिर्माण सुरु भएको हो ।

निर्माणाधीन रङ्गशाला १८ रोपनी एक आना क्षेत्रफलमा फैलिएको छ भने यसको क्षमता एक हजार पाँच सय जनाको हुने कामपाले जनाएको छ । रु २२ करोड ९५ लाख ९३ हजार नौ सय ९९ लागत अनुमानसहित बोलपत्र आह्वान गरिएकामा रु १८ करोड ८६ लाख ७४ हजार आठ सय २७ मा सहमति भई शुभ कन्स्ट्रक्सनले पुनःनिर्माणको जिम्मेवारी पाएको हो ।

रङ्गशाला पुनःनिर्माणको शिलान्यास गर्दै उपप्रमुख डङ्गोलले कामपाले खेल पूर्वाधारमा लगानी बढाएको बताउनुभयो । “सन्तुलित विकासका लागि भौतिक निर्माणसँगै आर्थिक र सामाजिक विकास सँगै लैजानुपर्छ । यस क्रममा खेलकुदलाई विकासको आयामसँगै अगाडि लैजाने कार्यक्रमअन्तर्गत रङ्गशाला पुनःनिर्माण गर्न लागेका हौँ”, उहाँले भन्नुभयो ।

विद्यालयस्तरबाट खेलाडी उत्पादन गर्ने विविध कार्यक्रम सञ्चालन भइरहेको बताउँदै उपप्रमुख डङ्गोलले यो प्रयासबाट राष्ट्रिय पहिचान दिनसक्ने खेलाडी प्राप्त हुने अपेक्षा राख्नुभयो ।

वडामा रङ्गशाला पुनःनिर्माणले स्थानीय विकासलाई उचाइमा लैजाने कामपा–५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतीले बताउनुभयो । “वडामार्फत टोल तथा चोकहरूमा मौलिक खेल पुनरुत्थान गरिरहेका छौँ । यहाँ व्यवस्थित फुटबल मैदान निर्माण हुनेछ”, उहाँले भन्नुभयो ।

रङ्गशालाको डिजाइन र लागत अनुमान सहरी योजना आयोगले तयार पारेको हो । यसलाई सार्वजनिक निर्माण विभागले कार्यान्वयनमा ल्याएको छ । उक्त खेलमैदानमा आकाशे पानी निकास प्रणालीसहितको कृतिम घाँस राखिनेछ भने वरिपरि सिमा पर्खाल हुनेछ ।

साथै २८ वटा चार पाङ्ग्रे र एक सय ७८ वटा दुई पाङ्ग्रे सवारीसाधन अट्ने क्षमताको पार्किङ स्थल पनि हुनेछ । रङ्गशालाको भुइँतलामा महिलाका लागि २३ र पुरुषका लागि १६ वटा शौचालय हुनेछन् । साथै एउटा फिजियोथेरापी कक्ष, पुरुष र महिलाका लागि तीन/तीन वटा कपडा फेर्ने कोठा, एउटा प्राथमिक उपचार कक्ष र दुई वटा टिम लकर राखिने छ ।

निर्माण कम्पनीले रङ्गशालाको विसं २०८२ चैत मसान्तभित्र काम सम्पन्न गरिसक्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *