सरकारी नम्बर प्लेट दुरूपयाेग गर्दै गाँजा तस्कर, प्रहरीले चलाउनुपर्याे गाेली

सुनसरी, १९ मङ्सिर । प्रहरीले सुनसरीको धरानबाट मङ्गलबार राति ६ सय किलो गाँजा बरामद गरेको छ । सरकारी नम्बर प्लेट दुरूपयाेग गरेर गरिएकाे गाँजा तस्करीलाई समात्न प्रहरीले गाेलीसमेत प्रहार गर्नुपर्याे ।

गाँजा धरान उपमहानगरपालिका–१३ शिवधाराबाट प्रहरीले बरामद गरेको हो । गाँजा बरामद गर्ने क्रममा प्रहरीले चार राउण्ड गोलीसमेत प्रहार गरेको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिनुभयो ।

धनकुटाबाट धरानतर्फ आउँदै गरेकोे अवस्थामा प्रहरीले बा१झ ५१२७ र बा१झ ४६०५ नम्बरकाे सरकारी नम्बर प्लेटका दुईवटा जिपलाई मङ्गलबार राति नियन्त्रणमा लिएको छ । दुवै जिपलाई रोकेर जाँच गर्न खोज्दा चालक भाग्न खोजेपछि प्रहरीले गोली हानेर गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

धनकुटाबाट गाँजा ल्याइँदै छ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय भानुचोकबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो । गाँजा बरामद गर्ने क्रममा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा–११ का ३६ वर्षीय श्यामकुमार विक रहेका छन् । उनलाई इलाका प्रहरी कार्यलय धरानमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।