प्रधानमन्त्रीद्वारा अस्थिरता, अराजकता र भ्रष्टाचारविरूद्ध सङ्गठितरूपमा सक्रिय हुन आग्रह

काठमाडाैं, २४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरता, अराजकता र भ्रष्टाचारविरूद्ध सचेत, सङ्गठित र सक्रिय हुन कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ ।

एमालेको झापा जिल्ला कमिटीले आज बिर्तामोडमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले झापा विद्रोहको गौरवशाली इतिहास बोकेको कम्युनिष्ट आन्दोलनमा लागेका कार्यकर्ताहरू शान्तिपूर्ण आन्दोलनका क्रममा पनि क्रान्तिकारीपनलाई छाड्न नहुनेमा जोड दिनुभएको हो ।

पार्टीभित्र एकता र अनुशासन कायम गर्दै व्यक्तिगतरूपमा उच्च नैतिकता कायम गनुपर्नेमा विशेष जोड दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी देशका लागि केही गर्छौं, परिवर्तन गर्छौं, गरिबी र पछ्यौटपन हटाएरै छाड्छौँ । परिवर्तन ल्याउन साना प्रयासले हुँदैन । ठूला प्रयास गर्नुपर्छ । यो काम एमालेले मात्रै गर्न सक्छ । अहिलेको संयुक्त सरकार पनि त्यही प्रयासमा लागेको छ ।”

अध्यक्ष ओलीले कार्यकर्ताहरूलाई जनतासँगको सम्बन्धलाई निरन्तर बलियो बनाउन र जनताका समस्या बुझेर समाधानमा पहल गर्न सम्झाउँदै भ्रष्टाचार र अराजकता नस्वीकार्ने नमुना पार्टीका रूपमा एमालेलाई विकसित गर्नुपर्ने बताउनुभयो ।

उहाँले प्रतिस्पर्धी र विरोधीका गलत आरोपलाई डटेर सामाजिक सञ्जालबाट खण्डन गर्न तथा पार्टीभित्रका आपसी मुटाव भएमा सार्वजनिकरूपमा टिप्पणी नगर्न आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *