ज्योतिराजको ‘नाक्छोङ’को छायांकन सुरु

काठमाडौँ, ४ माघ । ज्योतिराज राईको निर्माणमा बन्न लागेको फिल्म ‘नाक्छोङ’ (विजुवा)को छायांकन सुरु भएको छ ।

विहिबार मोरङको बेलाबारीमा शुभ–मुर्हूत गर्दै फिल्मको छायांकन सुरु गरिएको हो । फिल्मको मुर्हूत परम्परागत भन्दा केही भिन्न तवरबाट गरियो ।

मुर्हूतमा स्थानीय विजुवाले तीन चुला र चिण्डोलाई पूजाससहित पुर्खाहरु सम्झदै फिल्मको मुर्हूत गरेका थिए । मुर्हत कार्यक्रममा लेखक तथा निर्देशक नविन सुब्बा, मिलन चाम्स, बेलाबारी नगरपालिका वडा नं ११ का वडाध्यक्ष बिक्रम वान्तवालगायत स्थानीय कलाकर्मीको उपस्थिती थियो ।

कार्यक्रममा कलाकार याशेली योङ्हाङ र हेम दिलुङ्छाले मुर्हूत सट दिदा त्यसको निर्देशक नविन सुब्बा, क्यामरा रोल वडाध्यक्ष बिक्रम वान्तवा र क्ल्याप मिलन चाम्सले पड्काएका थिए ।
मुर्हूतपछि बोल्दै निर्देशक नविन सुब्बाले राई जातीहरुको कथा, संस्कृति फिल्ममा कम आएको बताउदै यसक्षेत्रसँग सम्बन्धित निर्देशकले आफ्नै त्यस्ता बिषयबस्तुमा जोड दिनुपर्ने बताए । फिल्म ‘गाउँ आएको बाटो’मा आफुले राईको कथा केही देखाउन खोजेपनी त्यो पर्याप्त नभएको सुब्बाको भनाई थियो ।

निर्देशक मिलन चाम्सले ‘नाक्छोङ’को सुरुवात पितृहरुको सम्मान र सम्झनासहित सुरु भएकोले ईतिहास रच्ने फिल्म बनोस् भन्दै शुभकामना दिए । उनले ‘नाक्छोङ’ जस्ता फिल्मले स्वदेशीको अलवा अन्तररास्ट्रिय बजारमा समेत प्रभाव जमाउन तागत राख्ने बताए ।

‘नाक्छोङ’का निर्माता ज्योतीराजले कार्यक्रममा सहभागी सबैप्रति आभार ब्यक्त गर्दै ‘नाक्छोङ’ बिजुवाको निर्माणको औचित्य राईको परम्परा जोगाएर पुस्तान्तरण गर्न रहेको बताए । हरेक चाड, विवाह, कुलपितृ, रीतिभेषभूषामा आवस्यक बिजुवाको संरक्षणका लागि फिल्म निर्माण गर्न लागेको बताए । ‘नाक्छोङ’ स्वदेशीको अलवा अन्तराष्ट्रिय फिल्म महोत्सवको लागि निर्माण हुन लागेको खुलाए । उनले भने, ‘अहिलेसम्मको अनुभव खन्याएर फिल्म उत्कृष्ट बनाउनेछु ।’

फिल्म किरण राईले निर्देशन गर्दैछन् ।