अन्नपूर्ण आधार शिविरमा पूर्वाधार विकास र पर्यटन प्रवर्द्धन

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेको अन्नपूर्ण आधार शिविर र मौरिस हर्गोज पदमार्गमा महत्वपूर्ण पूर्वाधार विकास कार्य सुरु भएको छ।
यस रु. १ करोड २५ लाखको परियोजनामा तीन निकायको संयुक्त लगानी रहेको छ – अन्नपूर्ण गाउँपालिकाको रु. १ करोड, नेपाल पर्यटन बोर्डको रु. २० लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को रु. ५ लाख बजेटबाट आश्रयस्थल, शौचालय, खानेपानी, पदमार्ग, चिया पसल र खुला सङ्ग्राहलय निर्माण थालिएको हो । अन्नपूूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले अन्नपूर्ण आधार शिविर र पञ्चकुण्ड ताल क्षेत्रमा अस्थायी संरचना निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।
सन्धीखर्क, भुुसकेट, पञ्चकुण्ड ताल परिसरमा रु ४० लाखको लागतमा तीन वटा आश्रयस्थल निर्माण गर्न लागिएको छ ।
हुमखोला, फुतफुते झरना, गुफाफाट, भुसकेट र पञ्चकुण्डमा खानेपानी र शौचालय निर्माणका लागि रु ३० लाख विनियोजन भएको छ । फुटफुते झरना परिसरमा चिया पसल र आधार शिविरमा खुला सङ्ग्रहालय निर्माणका लागि रु १०÷१० लाख विनियोजन भएको छ ।
पदमार्ग निर्माण र सुधारका लागि पर्यटन बोर्डको रु २० लाख, गाउँपालिकाको रु १० लाख र एक्यापको रु पाँच लाख बजेट परिचालन गर्ने गरी उपभोक्ता समिति गठन भएको छ ।
मानव बस्तीदेखि टाढा, होटल र रेष्टुराँ नभएको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण आधार शिविर जाने पर्यटकलाई खाना, बस्न र फोहर व्यवस्थापनमा समस्या भएपछि पूर्वाधार निर्माण थालिएको हो ।
अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीका अनुसार दसैँ–तिहारको समयमा करिब पाँच हजार जना आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका थिए । मौरिस हर्गोज पदमार्गमा झोलुङ्गे पुल, सञ्चार, विद्युत् सुविधा विस्तार र पर्यटक चेकपोष्ट राख्नका लागि पनि पहल भएको उहाँले बताउनुभयो ।
अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । अन्नपूर्ण हिमालको फेदीमा रहेको नीलो रङको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो ।
तीन दिनको छोटो अवधीमा साहासिक पदयात्रा गर्न सकिने भएकाले पर्यटकको रोजाइमा अन्नपूर्ण आधार शिविर परेको हो । हर्जोगको टोलीले अन्नपूर्ण चढ्न प्रयोग गरेको बाटो पछ्याउँदै नारच्याङका तेज गुरुङको अगुवाइमा विसं २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो ।
सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले ‘मौरिस हर्जोग’ नामकरण गरेको छ ।