काठमाडौंको ऐतिहासिक इखा पोखरी पुनर्जीवनको यात्रामा, उपप्रमुख डंगोलले गरिन शिलान्यास

काठमाडाैं, १४ माघ । काठमाडौं महानगरपालिकाले ऐतिहासिक महत्व बोकेको इखा पोखरीको पुनर्निर्माण कार्य सुरु गरेको छ।

काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले विशेष समारोहकाका साथ पुनर्निर्माण कार्यको शिलान्यास गर्नुभएकाे हाे ।

१६औं शताब्दीमा निर्माण भएको यो पोखरीको इतिहास र महत्व उल्लेखनीय छ। २१० फिट लम्बाइ र ९२ फिट चौडाइ भएको यो पोखरी साढे सात रोपनी क्षेत्रफलमा फैलिएको छ। विशेष गरी यस पोखरीको पानीले आँखाका रोगहरू निको पार्ने जनविश्वास रहेको छ, जसले यसको प्राकृतिक र औषधीय महत्वलाई इंगित गर्दछ।

पुनर्निर्माण योजना अन्तर्गत तीन करोड ६४ लाख रुपैयाँको लागतमा पोखरीको करिब छ रोपनी क्षेत्रफलमा जलाशय र वरिपरि दुई मिटरको पैदल मार्ग निर्माण गरिनेछ। आधुनिक प्रविधिको प्रयोग गर्दै वर्षाको पानी संकलन गर्ने प्रणाली पनि स्थापना गरिनेछ। यो परियोजना २०८२ माघ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

महानगरपालिकाले यस पुनर्निर्माण कार्यलाई केवल भौतिक पूर्वाधारको रूपमा मात्र नहेरी सांस्कृतिक र सामाजिक पुनर्जीवनको अवसरको रूपमा लिएको छ। उपप्रमुख डंगोलले जल प्रणाली (ब्लु ल्याण्डस्केप) को पुनर्स्थापनालाई प्राथमिकतामा राखिएको बताउनुभएकाे छ। यसैगरी, पोखरीसँग जोडिएका परम्परागत चालचलन र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन पनि योजनाको महत्वपूर्ण अंग रहेको छ।

यो पुनर्निर्माण काठमाडौं महानगरपालिकाको बृहत् सम्पदा संरक्षण अभियानको एक हिस्सा हो, जसअन्तर्गत ढुङ्गेधारा, हिटी र पोखरीहरूको संरक्षण र पुनर्स्थापना गरिँदैछ। यस्ता जल सम्पदाहरूले सहरको पारिस्थितिक प्रणाली, सांस्कृतिक पहिचान र समुदायको जीवनशैलीमा महत्वपूर्ण भूमिका खेल्दछन्।