प्रचण्डको साथमा देश नबन्ने भएपछि कांग्रेससँग सहकार्य गरेको हुँ : प्रधानमन्त्री ओली
काठमाडाैं, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश अप्ठ्यारो अवस्थामा पुगेपछि नेपाली कांग्रेससँग मिलेर सरकार बनाएको बताउनुभएकाे छ।
सूर्यविनायक नगरपालिकाको प्रशासनिक भवन उद्घाटन कार्यक्रममा बोल्दै उहाँले देश र प्रणाली नै नरहने स्थिति आएपछि प्रतिस्पर्धी दलहरू मिलेको बताउनुभयाे।
प्रचण्डले देशलाई तमासा जस्तो बनाइएको टिप्पणी गर्दै उहाँले भन्नुभयाे, “देश बनाउने कुरा मजाक होइन। देशलाई अप्ठ्यारोबाट बचाउन र लोकतन्त्रलाई बलियो बनाउन हामी मिलेका हौं।”
उहाँले सरकार आजै वा भोलि ढल्छ भनेर गरिएको हल्लाको कुनै अर्थ नरहेको बताउनुभयाे ।
प्रधानमन्त्री ओलीले देशलाई स्थिर र बलियो बनाउन कांग्रेस र एमाले मिलेर काम गर्ने बताउनुभयाे। उहाँले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको साथ लिएर प्रधानमन्त्री बन्नुको कुनै अर्थ नभएको बताउनुभयाे।
प्रचण्डलाई लक्षित गर्दै उहाँलेले भन्नुभयाे, “देउवाले पनि प्रधानमन्त्री छाडेरै आउनुभएको हो, मैले पनि छाडेरै आएको हुँ। मैले दिँदा मान्नुभएन भन्ने सुनेको थिएँ। त्यस्ताको साथ लिएर प्रधानमन्त्री चलाएर के गर्नु? देश बन्दैन भनेर छाडेको हुँ। कांग्रेसले प्रस्ताव गरेपछि प्रधानमन्त्री बनेको हुँ।”