गिद्ध संरक्षणमा बर्दिबासको पहलकदमी

महोत्तरी, २० माघ । महोत्तरीको बर्दिबासमा लोपोन्मुख गिद्ध संरक्षणको लागि पहल थालिएको छ। बर्दिबास-३ को वन क्षेत्रमा समूहमा गिद्ध भेटिएपछि नगरपालिकाले यसको संरक्षणका लागि संस्थागत कदम चालेको हो।

नगरपालिकाले गिद्ध संरक्षणको जिम्मेवारी संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिलाई दिएको छ। समितिले लोपोन्मुख गिद्ध, दुर्लभ चराचुरुङ्गी र वातावरण संरक्षणका लागि उपसमिति गठन गरेको छ। उपसमितिले गिद्ध संरक्षणको पहल बढाउनुका साथै अन्य चराचुरुङ्गी र वातावरण संरक्षणका लागि योजना बनाइरहेको नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षत्रीले बताए।

उनले भने, “पर्यटन व्यवसायी हीरालाल गौतमको संयोजकत्वमा समिति गठन गरिसकेका छौँ, र समितिले उपसमितिमार्फत योजनाबद्ध काम गर्नेछ।” गत वर्ष बर्दिबास उद्योग वाणिज्य संघको नेतृत्वमा १० सामाजिक संस्थाले पर्यटकीय गन्तव्य पहिचान गरी पदयात्रा सुरु गरेका थिए। पदयात्रामा गिद्ध देखिएपछि यसको संरक्षण गर्नुपर्ने सुझाव आएपछि नगरले पहल थालेको हो।

पदयात्रामा सहभागी विशाल बस्नेत गिद्ध, चराचुरुङ्गी तथा वातावरण उपसमितिको संयोजक तोकिएका छन्। संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिका संयोजक गौतमले यो कामले गति लिने विश्वास व्यक्त गरे। उनले धार्मिक, सांस्कृतिक, सामाजिक र वातावरणका क्षेत्रमा गर्नुपर्ने कामको सूची बनाएर अघि बढ्ने बताए।

बर्दिबास-३ मा रहेका राइमण्डलधाम, पाषाण युगकालीन हतियार कारखाना, परेवापाखा र सोलीघोप्टेडाँडाको सेरोफेरो राइमण्डलडाँडाको थुम्कोमा भेटिएका गिद्ध संरक्षणको कामलाई पहिलो प्राथमिकतामा राखिएको छ। गिद्ध भेटिएको थुम्कोलाई अब गिद्धबास भन्न थालिएको छ।
चुरेले जिल्लाको सबै भेग समेटेको बर्दिबासमा पर्यटन प्रवर्द्धनका कामले गति लिने विश्वास गरिएको छ। गिद्धबासलाई पनि पर्यटकीय गन्तव्य बनाउन समितिले योजनाबद्ध काम गर्ने नगरप्रमुख क्षत्रीले बताए।

उपसमितिका संयोजक बस्नेतका अनुसार गिद्धबासमा एक हजारभन्दा बढी गिद्ध रहेका छन्। उनले यसको संरक्षणलाई अभियानको रुपमा सञ्चालन गरिने बताए। साथै, नवलपरासीको कावासोतीमा रहेको ‘जटायु रेष्टुरेन्ट’ को मोडलमा यहाँ पनि काम गर्ने योजना रहेको जानकारी दिए।

स्थानीय ७० वर्षीय बिसुनदेव महतोका अनुसार जिल्लामा तीन दशकअघि ठूला रुखमा गिद्ध बस्ने गरेको भए पनि रुख मासिँदै गएपछि गिद्ध देखिन छाडेका थिए। बर्दिबास-३ का पूर्वप्रधानाध्यापक दीपकराज बरालले गिद्ध संरक्षणमा काम गर्नेहरू कम रहेको भन्दै सरकारले अध्ययन, अनुसन्धान गर्नेहरूलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।