बडीमालिकामा भारी हिमपातपछि दुई पर्यटक सम्पर्कविहीन
बाजुरा, १४ कात्तिक । बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडीमालिकामा भारी हिमपातपछि दुई जना पर्यटक सम्पर्कविहीन भएका छन्। बडीमालिका भगवतीको दर्शन तथा भ्रमणका लागि पुगेका उनीहरू वर्षासँगै भएको हिमपातका कारण अलपत्र परेको आशंका गरिएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार सम्पर्कविहीन हुनेमा कञ्चनपुरको बेदकोट नगरपालिका–दैजीका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्की रहेका छन्।
कात्तिक ९ गते सदरमुकाम मार्तडीबाट पाँच जनाको टोली बडीमालिकाका लागि प्रस्थान गरेको थियो। उक्त टोलीका तीन जना बडीमालिका पुगेर सकुशल फर्किसकेका छन्।
चार हजार दुई सय मिटर उचाइमा रहेको बडीमालिका भगवती मन्दिरको दर्शन गरेर फर्कने क्रममा शुक्रबारदेखि मनिष बोहरा सम्पर्कविहीन भएका थिए। त्यसपछि शनिबार रातिदेखि सागर कार्कीसँग पनि सम्पर्क हुन नसकेको प्रहरीको भनाइ छ।
प्रहरी निरीक्षक शाहीका अनुसार सागरले शुक्रबार फोनमा आफू बडीमालिकाबाट फर्कने क्रममा साथी हराएको र आफू त्रिवेणी पाटनमा रहेको जानकारी गराएका थिए।
“हिजो सागरसँग फोन सम्पर्क गर्दा बडीमालिकाबाट फर्किने क्रममा साथी हरायो, म त्रिवेणी पाटनमा छु भन्दै हुनुहुन्थ्यो,” शाहीले भन्नुभयो।
भारी हिमपातका कारण मनिष हराएको र अत्यधिक हिउँ परेपछि तल झर्न नसक्दा सागर पनि अलपत्र परेको हुनसक्ने प्रहरीको अनुमान छ। दुवैको मोबाइल बन्द रहेकाले उनीहरूको अवस्थाबारे थप जानकारी प्राप्त हुन सकेको छैन।
सम्पर्कविहीन पर्यटकको खोजी तथा उद्धारका लागि प्रहरी टोली त्यसतर्फ पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
शुक्रबारदेखि जिल्लामा लगातार भइरहेको वर्षाका कारण बडीमालिकासहित उच्च हिमाली क्षेत्रमा भारी हिमपात भएको छ। प्रतिकूल मौसम र बाक्लो हिउँका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
