बाँकेमा ३६ हजार किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप

बाँके, माघ २१ । बाँके जिल्लामा ३६ हजार ९५० किशोरी तथा बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने भएको छ।

स्वास्थ्य कार्यालय, बाँकेले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सो जानकारी दिइएको हो।
स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख अङ्गतबहादुर शाहीका अनुसार, खोप लगाइने लक्षित समुदायमा राप्तीसोनारीमा ३,१८३, कोहलपुरमा ७,४४८, बैजनाथमा ४,११४, खजुरामा ५,८७२, जानकीमा १,९५०, नेपालगञ्जमा ९,३१९, डुडुवामा २,५८४ र नरैनापुरमा २,४८० किशोरी तथा बालिका रहेका छन्।

पहिलो चरणमा नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकाका २२ हजार ५८९ किशोरी तथा बालिकालाई यही माघ २२ गतेदेखि फागुन १ गतेसम्म खोप लगाइनेछ। दोस्रो चरणमा माघ ३० गतेदेखि राप्तीसोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकाका १२ हजार ३६१ किशोरी र बालिकालाई खोप लगाइने लक्ष्य छ।

प्रमुख शाहीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउने पहिलो चरणको तयारी पूरा भएको जानकारी दिँदै १० वर्षदेखि १४ वर्षसम्मका किशोरी तथा बालिकालाई खोप लगाउन लागिएको बताए।

जिल्ला समन्वय समितिका सभापति ज्ञानेन्द्र चौधरीले खोप कार्यक्रमलाई प्रभावकारी बनाउन आग्रह गर्दै यो सबैको साझा दायित्व भएको बताए। नेपालगञ्जका फिजिसियन डा. राजन पाण्डेले सबै क्यान्सरविरुद्ध खोप नभएको तर पाठेघर क्यान्सरबाट खोप लगाएर बचाउन सकिने बताए।

स्वास्थ्य कार्यालयका खोप सम्पर्क व्यक्ति नरेशबाबु श्रेष्ठले पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभी भाइरस विरुद्ध जिल्लामा सञ्चालन हुने खोप अभियानमा सिकोलिन खोप उपलब्ध हुने जानकारी दिए। उनका अनुसार, विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरी र बालिकालाई खोप लगाइनेछ। जिल्लामा ३७८ विद्यालयमा अध्ययनरत किशोरीलाई खोप लगाउन ४५९ खोप केन्द्र तोकिएका छन्, जसमा ३७८ विद्यालयमा र ८१ अन्य स्थानमा रहेका छन्।