ओमानबाटै श्रम स्वीकृति दिन थालियो

काठमाडौं,२३ माघ । सरकारले अब विदेशबाटै पनि श्रम स्वीकृति दिन थालेको छ। ओमानस्थित नेपाली राजदूतावासले पहिलो पटक मस्कटबाट यो सेवा सुरु गरेको हो।

दूतावासका अनुसार, ओमानको सलालामा आयोजित एक विशेष कार्यक्रममा गत शुक्रबारदेखि नै श्रम स्वीकृति प्रदान गर्न थालिएको हो। राजदूतसँग प्रत्यक्ष संवाद, श्रमिक सचेतना, वित्तीय साक्षरता, सामाजिक सुरक्षा कोषमा आवद्धता र पासपोर्ट लगायतका सेवाहरू प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो।

राजदूत डोरनाथ अर्याल र वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले संयुक्त रूपमा श्रम स्वीकृति प्रदान गरेका थिए। यसअघि विभिन्न माध्यमबाट ओमान पुगेका तर श्रम स्वीकृति नलिएका नेपालीहरूलाई लक्षित गरी यो सेवा सुरु गरिएको हो।

कार्यक्रममा राजदूत अर्यालले नेपाली श्रमिकहरूको हकहितका लागि दूतावास सधैँ तत्पर रहेको बताए। महानिर्देशक खत्रीले श्रम स्वीकृति बिना विदेश आउँदा आइपर्ने समस्याहरूबारे जानकारी गराउँदै श्रमिकहरूलाई सचेत गराएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *