म्याग्दीमा मिलन म्याग्दीद्वारा १३९ झोलुङ्गे पुल निर्माण
म्याग्दी, २९ माघ । मिलन म्याग्दीको प्राविधिक सहयोगमा म्याग्दी जिल्लामा १३९ झोलुङ्गे पुल निर्माण भएका छन्।
संस्थाको २६औँ स्थापना दिवसमा अध्यक्ष दिलमाया बिटालुले दुर्गम क्षेत्रमा जान सहज बनाउन पुल निर्माण गरिएको जानकारी दिइन्।
धवलागिरि, रघुगङ्गा र अन्नपूर्णका विकट बस्ती जोड्दा स्थानीयको घण्टौंको यात्रा छोटिएको छ। हालै धवलागिरि-७ धारापानी र मालिका-७ खारा जोड्ने पुल बनेपछि २७४ घरधुरी लाभान्वित भएका छन्, जहाँ १ घण्टाको बाटो १५ मिनेटमा छोटिएको छ।
झोलुङ्गे पुलले पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुगेको छ। चालु आर्थिक वर्षमा बेनी, मङ्गला, रघुगङ्गा र धवलागिरिमा थप पुल निर्माणाधीन छन्।
गण्डकी प्रदेशमा २,२६४ झोलुङ्गे पुल निर्माण भएका छन्। १२० मिटरभन्दा लामा पुल सङ्घीय सरकारले र सोभन्दा कम प्रदेश तथा स्थानीय तहले निर्माण गर्दै आएका छन्।
