पाल्पाको रम्भामा सामुदायिक घरवास सुरु, पर्यटकलाई स्थानीय संस्कृति र स्वादको अनुभव
पाल्पा, ४ फागुुन । पाल्पाको रम्भा गाउँपालिका-२ फोक्सिङकोटमा रानीवास सामुदायिक घरवास सञ्चालनमा आएको छ।
पर्यटक आकर्षित गर्न र स्थानीय पर्यटन प्रवर्द्धन गर्न १४ घरपरिवारले मिलेर घरवास सुरु गरेका हुन्।
घरवास सञ्चालक समितिका अनुसार यहाँ आउने पर्यटकलाई प्रतिव्यक्ति एक हजार रुपैयाँको प्याकेजमा स्थानीय खाना र बस्ने सुविधा उपलब्ध हुनेछ।
पर्यटकले स्थानीय उत्पादनबाट बनेका परिकार जस्तै कोदोको ढिँडो, मकैको आँटो, गुन्द्रुक, स्थानीय कुखुराको मासुको स्वाद लिन पाउनेछन्। साथै, उनीहरुले पन्चेबाजा, सालैजो, मारुनी जस्ता स्थानीय कला संस्कृति पनि हेर्न पाउनेछन्।
गाउँपालिकाले घरवास सञ्चालनका लागि स्थानीयलाई तालिम दिएको थियो। घरवास सुरु भएपछि स्थानीयले रोजगारी पाउने, धेरै पर्यटक आउने र स्थानीय कला संस्कृतिको संरक्षणमा टेवा पुग्ने गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए।
समुद्र सतहदेखि करिब १२०० मिटर उचाइमा रहेको रानीबासबाट माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरी हिमालको सुन्दर दृश्य देख्न सकिन्छ। यहाँ आदिवासी जनजाति सङ्ग्रहालय पनि निर्माणाधीन छ ।