राष्ट्रपतिद्वारा अर्थमन्त्री पौडेल र महानगर प्रमुखको स्वस्थ्यबारे जानकारी

काठमाडौँ, ४ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएकाे छ ।

शनिबार पोखरामा आयोजित एक कार्यक्रममा बेलुन उडाउने क्रममा घाइते हुनुभएका दुवै जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा सघन उपचार कक्षमा उपचार भइरहेको छ।

राष्ट्रपति पौडेललाई स्वास्थ्यमन्त्री प्रदीप पौडेल, स्वास्थ्य सचिव डा. रोशन पोखरेल र अस्पतालका निर्देशक डा. किरणकिशोर नकर्मीले उहाँहरुको स्वास्थ्य अवस्थाबारे जानकारी गराउनुभएकाे थियाे ।

डा. नकर्मीले मन्त्री पौडेल र महानगर प्रमुख आचार्यको अवस्था सामान्य हुँदै गए पनि केही समय निगरानीमा राख्नुपर्ने बताउनुभयाे । उहाँले अस्पताललाई जलनको उपचारका लागि अत्याधुनिक उपकरण र प्रविधिसहितको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयाे ।