एक सय आठ वर्षीया वृद्धाको खुट्टाको सफल शल्यक्रिया

कञ्चनपुर, ५ फागुन । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा एक सय आठ वर्षीया वृद्धाको खुट्टाको सफल शल्यक्रिया गरिएको छ।

कञ्चनपुरको बेदकोट नगरपालिका–१० बस्ने १०८ वर्षीया तुलसादेवी देउवाको खुट्टाको शल्यक्रिया (आइटी फ्याक्चर) सफल भएको हो। अस्पतालका विशेषज्ञ चिकित्सक अर्थोपेडिक सर्जन डा. दुर्गेस चौधरी, डा. सुवर्ण पौडेल, डा. मुकेश गामीलगायतको टोलीले शल्यक्रिया गरेको थियो।

अस्पतालका चिकित्सक डा. चौधरीले भने, “उहाँको हामीले उच्च सावधानी अपनाएर शल्यक्रिया सफल रूपमा गरेका छौँ, यो दुर्लभ नै हो।” धेरै उमेर पुगेका वृद्धवृद्धामा शल्यक्रिया गर्न धेरै जोखिम हुने भएकाले चिकित्सकले शल्यक्रिया गर्न सुझाव नदिने उनले बताए।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले यो दुर्लभ र जोखिमपूर्ण भए पनि अस्पतालका विशेषज्ञ चिकित्सकले सफल शल्यक्रिया गरेको बताए। उनले भने, “हामीले शल्यक्रियाका जोखिमबारे उहाँको परिवारलाई जानकारी दिएका थियौँ। उहाँहरुले शल्यक्रियाका लागि अनुमति दिएपछि अस्पतालको टोलीले काम सफल रूपमा गर्यो।”

वृद्धाका छोरा गोपालबहादुर देउवाका अनुसार गत माघ २५ गते खाटमा बस्ने क्रममा भुइँमा खसेर उहाँको खुट्टा भाँचिएको थियो। देउवाले भने, “उमेर भइसकेका आमाको अप्रेसन सफल भयो, हामी धेरै खुसी भयौँ, खुट्टाको शल्यक्रियापछि अहिले स्वास्थ्यमा सुधार आएको छ।”
पछिल्लो समय अस्पतालमा विशेषज्ञ चिकित्सक थपिएपछि जटिल प्रकारका शल्यक्रिया महेन्द्रनगरमै हुन थालेका छन्। अस्पतालमा हाल १४ विशेषज्ञ चिकित्सक, १२ मेडिकल अफिसर र छजना डेन्टलले सेवा दिँदै आएका छन्।