ज्यालामा भएकाे विभेदले पार्वती बनिन् ठेकेदार, महिला र पुरुष दुवैलाई दिन्छन् समान ज्याला
कञ्चनपुर, ६ फागुन । कञ्चनपुरको वेदकोट नगरपालिका–५ धरपुरकी पार्वती डगौराले ज्यालामा विभेद भोगे पछि आफैँ ठेकेदार बनेर अरुलाई रोजगारी दिइरहेकी छन्।
पहिला दिनभर काम गरेर रु. ५०० ज्याला पाउने उनी अहिले दैनिक रु. १,००० कमाउँछिन्। पुरुषसरह काम गर्दा पनि ज्याला कम पाए पछि पार्वतीले घर निर्माणको ठेक्का लिने सोच बनाइन् र मिस्त्रीको काम सिकेकी हुन् । “पुरुषसरह काम गर्दा पनि ज्याला कम पाए पछि आफैँ मिस्त्री बन्ने योजना बनाएँ,” उनले भनिन्, “दातृ निकायको सहयोगमा वडा कार्यालयमा राज मिस्त्रीको तालिम लिएँ।” उनले वडा कार्यालय र निड्स नेपाल कञ्चनपुरको सहयोगमा ६० दिने तालिम लिएकी हुन्।
“पहिले मजदुरी गर्दा ५०० मात्रै ज्याला पाउँथेँ, अहिले आफैँ ठेक्का लिन्छु,” पार्वतीले भनिन्, “मिस्त्रीको काम गर्दा दैनिक एक हजार आम्दानी हुन्छ।” तालिम सकिने बित्तिकै उनले गाउँमा घर निर्माणको ठेक्का पाइन्। “मजदुरीले घरखर्च धान्न गाह्रो भएपछि मिस्त्री बन्ने हिम्मत गरेँ,” उनले भनिन्, “मैले महिला र पुरुष दुवैलाई समान ज्याला दिएकी छु, आफूले भोगेको विभेद अरुलाई हुन दिन्नँ।”
पार्वतीले गाउँमा तीनवटा घरको ठेक्का लिएर निर्माण सम्पन्न गरिसकेकी छन्। एउटाको काम नसकिँदै अर्कोको ठेक्का पाउने गरेको उनले बताइन्। “अहिले सजिलो भएको छ, ठेक्का पाइरहेको छु,” उनले भनिन्, “पहिले मजदुरीमा जाँदा अलिकति ढिला भए पनि ठेकेदारले फर्काइदिन्थ्यो।”
दृढ इच्छाशक्ति र निरन्तरता भएमा असम्भव भन्ने केही नहुने उनको भनाइ छ। “यहाँ ज्यालामा धेरै विभेद छ, एउटै कामको पुरुषलाई बढी र महिलालाई कम दिइन्छ,” उनले भनिन्, “यो विभेद अन्त्य गर्न मैले आफैँ तालिम लिएर ठेक्का लिन थालेकी हुँ।” अहिले उनले अन्य महिलालाई पनि रोजगारी दिएकी छन्।
निड्स नेपाल कञ्चनपुरले दिगो आम्दानी तथा महिला सशक्तीकरण परियोजनाअन्तर्गत वेदकोट र कृष्णपुर नगरपालिकामा कार्यक्रम सञ्चालन गरेको छ। यस अन्तर्गत महिलाको आयआर्जनमा सुधार ल्याउन तालिम र उद्यममा सहयोग गरिएको परियोजना संयोजक हेमन्त शाहीले बताए।
वेदकोट नगरपालिका–४ का वडाध्यक्ष नरेन्द्रबहादुर बोहराले केही गर्न चाहने महिलालाई आत्मनिर्भर बन्न सहयोग पुगेको बताए।