धवलागिरिका दुर्गम गाउँमा सडक पहुँचमा जोडियो

म्याग्दी, १२ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरका हरिप्रसाद तिलिजालाई नजिकको बजार मालिका गाउँपालिकाको केन्द्र दरवाङ पुग्न पुरै दिन पैदलयात्रा गर्नुपर्ने बाध्यता थियो।

“किनमेलका लागि दरवाङ, मुदीको वडा कार्यालय र मुनाको गाउँपालिका कार्यालय पुग्न पुरै दिन पैदलयात्रा गर्नुपर्ने अवस्था थियो,” वडा सदस्यसमेत रहेका उनले भने, “खच्चड, भरियामार्फत दैनिक उपभोग्य सामग्री, निर्माण सामग्री ढुवानी गर्दा महँगो शुल्क तिर्नुपर्ने र आकस्मिक अवस्थामा अस्पताल पुग्न हेलिकप्टर चार्टर गर्नुपर्ने समस्या सडक यातायातको सुविधासँगै हटेको छ।”

भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने बगर, सिम्कोशका साथै चेचुङ र खिवाङ गाउँका बासिन्दा गाडी चढेर एक घण्टामै दरवाङ, मुदी र मुना पुग्न थालेका छन्। धौलागिरि आधार शिविर जाने पदमार्गको अन्तिम मानव बस्ती बगरमा गत हप्ता सडक पुगेको हो।

धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले निर्माणाधीन जलविद्युत आयोजनाको पहुँच मार्ग र सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत निर्माण भएको सडकबाट स्थानीय बासिन्दालाई सुविधा पुगेको बताए।

धवलागिरि गाउँपालिका–४ मा निर्माणाधीन ६५ मेगावाट क्षमताको म्याग्दीखोला, ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी र ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत आयोजनाले मालिका गाउँपालिका–७ शिवरात्री खोलादेखि बगरसम्म १५ किलोमिटर पहुँचमार्ग निर्माण गरेका छन्।

“जलविद्युत आयोजनासँगै विकट गाउँबस्तीमा यातायात सुविधा भित्रिएको छ,” उनले भने, “सीमित सरकारी बजेटबाट अक्करे भिर, पहरा छिचोलेर सडक बनाउन वर्षौं लाग्ने थियो। जलविद्युत आयोजनाहरू भित्रिएसँगै सडक यातायातको पहुँच विस्तार छिटो भएको छ।”
हाइड्रो इम्पायर प्रा.लि. प्रवर्द्धक रहेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत आयोजनाले प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत स्थानीयको मागअनुसार करिब दुई महिना डोजर परिचालन गरेर गत महिना नाउरादेखि चेचुङ जोड्ने पाँच किलोमिटर सडक निर्माण सम्पन्न गरेको थियो। चेचुङमा १९ घरधुरी रहेका छन्।

उक्त आयोजनाले चेचुङको फेदी नाउरामा म्याग्दी नदीमाथि ३६ मिटर लामो बेलीब्रिज जडान गरेको छ। हाइड्रो भिलेज प्रवर्द्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनासँगको साझेदारीमा नाउरामा म्याग्दी नदीमाथि ३६ मिटर लामो बेलिब्रिज जडान गरेको अपर म्याग्दीले एकल लगानीमा सिम्कोस दोभानस्थित बाँध निर्माण स्थलमा अर्को बेलिब्रिज निर्माणको तयारी गरेको छ।

यसअघि गत वर्ष म्याग्दी नदीमा निर्माणाधीन तीन वटा जलविद्युत आयोजनाहरूको लागत साझेदारीमा धवलागिरी गाउँपालिका–४ को लामोछहरा केङ्कीदेखि खिवाङ जोड्ने करिब तीन किलोमिटर सडक निर्माण भएको थियो। खिवाङमा १८० घरपरिवारको बसोबास छ।

अपर म्याग्दी–१ जलविद्युत आयोजनाको बाँध निर्माण स्थलमा म्याग्दी र गुर्जाखोलामा ह्युम पाइप राखेपछि खिवाङ, नाउरा, चेचुङ, बगर, खाम्ला, खारा, बासबोट, छहरीका बासिन्दालाई हिउँद याममा मुदीको वडा र गाउँपालिका कार्यालय पुग्न दुई घण्टा घुमाउरो सडक प्रयोग गर्नुपर्ने अथवा पैदलयात्रा गर्नुपर्ने समस्या हटेको वडा अध्यक्ष यामबहादुर घर्तिले बताए।

सडकमा जिप, ट्याक्टर, मोटरसाइकल चल्न थालेका छन्। धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी, गुर्जा, दरखोलामा तीन वटा जलविद्युत आयोजना निर्माण शुरु भएका र पाँच वटा निर्माणको तयारीमा रहेकामध्ये धेरैजसोको निर्माण स्थल वडा नं.–४ को भूगोलमा पर्छ।

आइतबार धवलागिरि गाउँपालिका–४ बगर पुगेका म्याग्दी १(ख)बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रेशमबहादुर जुग्जालीले निर्माण भएका सडकमा नियमित र सुरक्षित रूपमा यातायात सञ्चालनको व्यवस्था मिलाउन जलविद्युत आयोजनाहरूसँग समन्वय गर्ने बताए।
उनले सडकको धुलोको समस्या समाधानका लागि जलविद्युत आयोजनाका प्रवर्द्धकहरूलाई निर्देशन दिए। दरवाङ–बिम–ताकम–मुना–ढोरपाटन र धवलागिरि गाउँपालिका–४ जोड्ने सडक अन्तर्गत मालिका गाउँपालिका–७ शिवरात्री खोलामा गण्डकी प्रदेश सरकारको लगानीमा २५ मिटर लामो मोटरेबल पुल निर्माण शुरु भएको उनले बताए।